संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतले पारित


काठमाडौं, ३१ जेठ । नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित भएको छ ।
प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको दफावार छलफलपछि विधेयक भएको मतदानबाट सर्वसम्मतले पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गर्दै प्रस्तावना संविधानको अभिन्न अंग बनेको घोषणा गर्नु भएको थियो ।
सभामुख सापकोटाले संशोधन विधेयक पारित भएको घोषणा गर्दा संसदमा लामो समय करतल ध्वनी गुञ्जिएको थियो भने नेताहरुले एक आपसमा खुसी बाड्दै बधाई आदान प्रदान गरेका थिए । मतदानमा कुल २ सय ५८ सहभागी हुँदा संशोधनको पक्षमा २ सय ५८ मत नै खसेको थियो ।
सदनमा प्रतिनिधित्व गर्ने सबै मुख्य दल र अन्य दलहरू पनि संशोधन विधेयकको पक्षमा उभिएकोले पनि संसदमा अभूतपूर्व एकता देखिएको थियो ।
संविधानको अनुसूची ३ मा रहेको निशाना छापमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक गरेको प्रशासनिक र राजनीतिक नक्सा समावेश गर्नका लागि यो संशोधन गरिएको हो ।
संशोधन विधेयक पारित भएपछि नेपालले जारी गरेको नयाँ नक्साले पूर्णतासहित औपचारिकता पाउने भएको छ । यसैगरी निशाना छापमा पनि नयाँ नक्सा समावेश गरिने छ ।
विधेयकमाथिको दफावार छलफलमा बोल्ने सबै दलका नेता र सांसदहरुले राष्ट्रिय एकताको बारेमा आआफ्नो धारणा राख्दै यो एकता देश र जनताका लागि अटुट रहुन पर्ने धारणा राखेका थिए ।
प्रतिनिधिसभामा सर्वसम्मतले विधेयक पारित भएपछि संघीय संसदमा मात्र नभइ देशव्यापीरुपमा खुसीको सञ्चार भएको थियो । एक युगमा एक दिन एक चोटी आउछ भने झै बनेको थियो विधेयक पारित गरेपछिको माहौल ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता