आजदेखि चार दिन भयानक वर्षा हुने, सावधान रहन सरकारको आग्रह


काठमाडौँ, २५ असार । आजदेखि चार दिनसम्म यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमान गरिएकाे छ । यसैले नदीतटीय क्षेत्र र अन्य क्षेत्रका बासिन्दा सबैले सावधानी अपनाउन भनिएकाे छ । सम्भावित विपद्लाइ ध्यानमा राखी आवश्यक पूर्वतयारी समेत थालिएको छ ।
मुख्यतः ४ वटा प्रदेशमा असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ  ।
प्रदेश १,२, बागमती र गण्डकी प्रदेशमा आइतबारसम्म नै चार दिन धेरै पानी पर्ने भएकाले सचेत रहन गृहमन्त्रालय अन्तरगतकाे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्राधिकरणले लामो वर्षाले पहाडी भेगको भू-भाग गलिसकेको कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भएकाले सावधानी अपनाउन भनेकाे छ ।
सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ। प्राधिकरणले पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदी नालामा बाढी आउने हुँदा सचेत रहन आग्रह गरेको हाे ।
‘शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ । तराईका झापा, मोरङ सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा,सर्लाही, बारा, पर्सा,रौतहट र चितवन लगायत होचो ठाउँलाई डुबाउने भएकोले बेलैमा सचेत रहन आग्रह गर्दछौँ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता