सिन्धुपाल्चोक बाढीपहिरो : ३ को शव भेटियो, २ घाइतेको उद्धार (अपडेट)


बाह्रबिसे, २५ असार । सिन्धुपाल्चोकमा गएराति बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । बाह्रबिसे नगरपालिका- ५ जम्बुमा स्थानीय याल्मो ठाडो खोलाले ११ वटा घर बगाउँदा तीन जनाको मृत्यु भएको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालका अनुसार स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको छ । अर्का एक जनाको ठेगाना भने खुलेको छैन् । अन्य १६ जना बेपत्ता भएको जनाईएको छ । सेना तथा प्रहरीको टोलीले उनीहरुको खोजी गरिरहेको बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जे शेर्पाले जानकारी दिनुभयो ।
मृतक निकेशकी श्रीमती सबिना बस्नेत र स्थानीय सुवेस तामाङ गम्भीर घाइते भएका छन् । सविना बस्नेतलाई भने कैलाश एअरलाइन्सको हेलिकप्टरबाट काठमाडौं पठाएर उपचारार्थ ह्याम्स अस्पताल भर्ना गरिएको छ । अर्का घाइते तामाङलाई लिन हेलिकप्टर पुनः सिन्धुपाल्चोक पुगेको छ ।
पहिरोले बाह्रबिसे नगरपालिका वडा नम्बर ५ को जम्बु गाउँको सिंगो बस्ती नै बगाएको छ । ठाडो खोलाले ठूल्ठूला ढुंगा र माटो बगाएर ल्याएर घरहरुमा क्षति पुर्याएको हो । एक दर्जन बढी घरमा क्षति पुगेको छ भने भोटेकोशी किनार वारिपारि रहेका झण्डै ५० घर बाढीको उच्च जोखिममा रहेको मेयर शेर्पाले जानकारी दिनुभएको छ ।
सभामुख अग्निप्रसाद सापकोटा बाढी पहिरोमा परेकाहरुको अवस्था बुझ्न हेलिकप्टरबाट बाह्रबिसे पुग्नु भएको छ । मौसमका कारण दुई घण्टा काभ्रेमा रोकिनुभएका सभामखु सापकोटा हेलिकप्टर लिएर घटनास्थल पुगेपछि घाइतेको उद्दार थालिएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता