कोरोना संकट ‘झनै खराब भएर जान सक्ने’ डब्लूएचओकाे चेतावनी


एजेन्सी, ३० असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले काेराेना संकट अझै खराब भएर जान सक्ने चेतावनी दिएको छ । सबै राष्ट्रहरूले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरूको पालना नगरेमा विश्वव्यापी कोरोना भाइरस महामारी संकट गहिरिँदै जान सक्ने भन्दै डब्लूएचओले चेतावनी दिएकाे हाे ।
डब्लूएचओका डाइरेक्टर जनरल टेड्रोस अधानोम घेब्रेसेसले साेमबार जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भनेका छन्, ‘मलाई सोझो भन्न दिनुहोस् कि धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन् । काेराेना भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ र यसाे संकट खराब हुँदै जान सक्छ ।’
उनले देशहरूले याे महामारी नियन्त्रणका लागि ‘आधारभूत कुराहरुलाई पालना’ नगर्ने हाे भने  महामारी जारी रहने र यो झनै खराब  बन्दै जाने बताए । अहिले थुप्रै कमजाेरी रहेकाे भन्दै उनले यस किसिमले हुन नहुने बताए ।
‘धेरै नै मुलुकहरु गलत दिशातिर अघि बढिरहेका छन् र विश्वव्यापी रुपमा संक्रमितको संख्या १ करोड ३० लाख नजिक पुगिसकेको छ,’ उनले चेतावनी दिँदै भने, ‘तत्कालै पहिलेको स्थितिमा फर्कन सकिने अवस्था देखिँदैन, तर रोगलाई नियन्त्रण गरेर हामी हाम्रो जीवनलाई अघि बढाउन सकिने बाटाहरु छन् । यसमा गम्भीर हुनुहाेस् ।’
महामारीकाे चपेटामा फसिरहेकाे जनजीवनलाई पूर्णतः बन्द नगरिकनै वा एउटा लकडाउनदेखि अर्को लकडाउनसम्म नघिस्रिकनै पनि यो भाइरसमाथि पर्याप्त मात्रामा नियन्त्रण गर्दै एउटा धान्न सकिने अवस्थामा पुग्नु जरुरी रहेकाे टेड्राेसकाे भनाइ छ ।
त्यस स्थितिमा पुग्नका लागि तीनवटा कुराको आवश्यकता रहेकाे बताउँदै उनले भने, ‘मृत्युदरलाई घटाउने कुरामा केन्द्रित हुने र संक्रमण दरमा कमी ल्याउने । समग्र समुदायलाई जोगाउने गरी आफ्नै खालका उपायहरु अपनाउने बलियो र सक्रिय समुदायको निर्माण गर्ने । र, बलियो सरकारी नेतृत्व र सूसुचित गर्ने कुरा । यो गर्न सकिन्छ र गरिनु नै पर्छ ।’
हाल विश्वभर काेराेना भाइरस संक्रमितकाे संख्या १ कराेड ३२ लाखभन्दा बढी पुगिसकेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । भाइरस संक्रमणबाट विश्वभर अहिलेसम्म ५ लाख ७४ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता