कोरोना संक्रमण : रूसलाई पछि पार्दै भारत उक्लियाे तेस्राे स्थानमा, झण्डै ७ लाख संक्रमित

काठमाडाैँ, २२ असार । भारतमा कोरोना भाइरस संक्रमण झन् बढ्दै गएकाे छ । त्यहाँ संक्रमितको ७ लाख नजिक पुगेकाे छ । साेमबार बिहानसम्म भारतमा ६ लाख ९७ हजार ८३६ जनामा संक्रमण पुष्टि भएको वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । यससँगै भारत रुसलाई पनि पछि पार्दै विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा तेस्रो नम्बरमा उक्लिएको छ ।
अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा तेस्राे स्थानमा रहेकाे छ । आइतबार साँझदेखि नै भारतले रूसलाइ पछि पारेकाे हाे । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसका संक्रमितहरू भारतमै फेला परेका छन् ।
भारतमा आइतबार मात्रै २३ हजार ९३२ जनामा भाइरस संक्रमण पुष्टि भएकाे छ । शनिबार पनि  त्यहाँ २४ हजार १५ नयाँ संक्रमित फेला परेका छन् थिए । आइतबार काेराेना संक्रमणका कारण त्यहाँ ४२१ जनाले ज्यान गुमाएका छन् । शनिबार पनि ६ सय १० जनाकाे मृत्यु भएकाे थियाे । भारतमा एकै दिनमा संक्रमित एवं मृत्यु हुनेको हालसम्मकै उच्च संख्या शनिबार नै पुष्टि भएकाे हाे ।
अहिलेसम्म त्यहाँ काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या भने १९ हजार ७०० पुगेकाे छ । तर त्यहाँ दैनिक रूपमा निकाे हुने क्रम पनि बढिरहेकाे छ । आइतबार मात्रै १५ हजार ९२९ जना संक्रमणमुक्त भएकाे जनाइएकाे छ ।
अहिले भातरमा २ लाख ४५ हजार ५६३ जना सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी हालसम्म कुल ४ लाख २४ हजारभन्दा बढी मानिस सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
भारत सरकारले १ जुनदेखि लकडाउनलाई खुकुलो पारेसँगै तथा काेराेना परिक्षणकाे दायरा पनि बढाएसँगै दैनिक संक्रमण हुनेकाे संख्या वृद्धि भइरहेकाे बताइएकाे छ । हाल त्यहाँका ३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरुमध्ये संक्रमितको संख्या सबैभन्दा उच्च देखिनेमा महाराष्ट्र, तमिलनाडु र दिल्ली छन् । संक्रमणकाे पछिल्लाे ट्रेन्ड हेर्दा भारतमा काेराेना तत्काल नियन्त्रणमा अाउने देखिदैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता