काेराेना परीक्षणकाे शुल्क ५५ सय, संकलित साढे ५ हजारभन्दा बढी स्वाब अलपत्र


दाङ, २२ असार । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालसम्म गरेको पीसीआर परीक्षणको प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँका दरले रकम असुल्न थालेको छ । प्रतिष्ठानले सबै स्थानीय तहलाई स्वाब परीक्षणको रकम शोधभर्ना गर्न भन्दै पत्र पठाएर रकम मागेको हो । स्थानीय तहले रकम नदिएपछि प्रतिष्ठानले परीक्षण बन्द गरेको छ ।
प्रतिष्ठानमा आएका स्वाबका नमुना शनिबारदेखि नेपालगन्ज पठाउन थालिएको छ । दुई पीसीआर मेसिन रहेको प्रतिष्ठानले बिहीबारदेखि नै स्वाब संकलन रोकेको थियो ।
प्रदेशमा चार स्थानमा परीक्षण हुने गरेको छ । शनिबार साँझसम्म संकलन भएका ५ हजार ५ सय १४ स्वाब परीक्षणको पर्खाइमा छन् तर प्रतिष्ठानले शनिबारदेखि परीक्षण गर्न छोडेको छ । स्थानीय तहलाई स्वाब संकलन र परीक्षणबापतको भन्दै पत्र पठाएर रकम माग्न थालेपछि स्थानीय तह बिलखबन्दमा परेका छन् । उनीहरूले आफ्नै खर्चमा संकलन गरेका स्वाब पनि नेपालगन्ज र भैरहवा पठाउन थालेका छन् । पैसा नदिए परीक्षण नगर्ने भन्दै प्रतिष्ठानले स्वाब लिन रोकेको गढवा गाउँपालिका अध्यक्ष सहजराज अहिरले बताए । अहिलेसम्मको परीक्षणबापत ४७ लाख रुपैयाँ तिर्नुपर्ने भन्दै ताकेता आएको उनले बताए ।
सरकारी प्रतिष्ठानले पीसीआर परीक्षणमा व्यापार गर्न खोजेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । ‘पहिले फोन गरेर पैसा तिर्नुपर्छ भनेका थिए, अहिले पत्र नै आयो, यो त स्वास्थ्यका नाममा व्यापार भयो,’ उनले भने, ‘सरकारी निकायबाटै परीक्षणको पैसा मागेपछि हामी बिलखबन्दमा पर्‍यौं ।’ बंगलाचुलीले ८० लाख रुपैयाँ तिर्नुपर्ने पत्र आएको उनले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता