नारायणगढ-मुग्लिन सडकखण्डमा ठूलो चट्टानसहित पुनः पहिरो, सडक पूर्णरुपमा अवरुद्ध


काठमाडौं, ०७ साउन । अविरल वर्षापछि मौसम सामान्य बनेपनि नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ। केही दिनअघिबाटै निरन्तर वर्षाले बाटो अवरोध गरेपछि सडक एकतर्फी खुलाइएको थियो । तर गएराति पुन: भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा ठूलो चट्टानसहितको पहिरो झरेपछि नारायणगढ–मुग्लिन अवरोध भएको छ ।
चारकिलोको पहिरो पन्छ्याएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ईन्जिनीयर कृष्णराज अधिकारीले बताउनुभयो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ। राति करिब ९ बजे पहिरो खसेको हो। चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४:३० बजे एकतर्फी खुलाइएको उहाँले बताउनुभयो ।
पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किनुभएको थियो । उहाँहरु सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्किएका फर्किनुभएको थियो ।
सडकमा ठूलो चट्टान खसेकाले पहिरो पन्छ्याएर बाटो खुलाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता