वीरगञ्जमा उपचार अभावकै कारण एक युवतीको मृत्यु


बीरगञ्ज, २४ साउन । वीरगञ्जमा समयमै उपचार नपाएपछि एक युवतीको मृत्यु भएको छ । गएराति करिब १२ः३० बजे सिकिस्त भएर उपचारका लागि नेशनल मेडिकल कलेज लगिएकी २० वर्षीया युवतीको उपचार अभावमा ज्यान गएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालले उपचार गर्न नमान्दा युवतीको ज्यान गएको आफन्तको आरोप छ । नेशनल मेडिकल कलेजले उपचारका लागि पीसीआर रिपोर्ट ल्याएपछि मात्र उपचार गर्नसक्ने बताउदै फर्काएको थियो । त्यस्तै, नारायणी अस्पतालले समेत उपचार गर्न नमानेपछि उक्त युवतीको अकालमै ज्यान गएको हो ।

नारायणी कोभिड अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले उपचारका लागि सहमति भएपनि युवतीको उपचारमा ढिलो भएर बचाउन नसकेको बताए ।

उनले राति १० बजेबाट उपचारका लागि भौतारिरहेकी उक्त युवतीको सामान्य उपचार गरिदिइएको भएपनि बचाउन सकिन्थ्यो कि ! भन्ने स्वीकारे ।

वीरगञ्जको एड्भान्स मेडिकेयर हस्पिटलबाट सुरु भएको उनको उपचार प्राप्तिको यात्रा नारायणी बयोधा अस्पताल, तराई अस्पताल, भवानी हस्पिटल, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयरहुँदै गण्डक अस्पताल पुगेर राति २ बजेर १२ मिनेटमा युवतीको जीवन यात्रानै अन्त्य भएको आफन्तको गुनासो छ ।

आफन्तहरुले बिरामीको मृत्यु नभई हत्या भएको आरोप समेत लगाउन थालेका छन् । प्रोटोकलको कारण देखाउँदै पर्साका अस्पतालहरुले उपचार गर्न नमान्दा बिरामीहरुले अकालमै ज्यान गुमाउन बाध्य छन् ।

पर्साका अस्पतालहरुले उपचारमा ढिलाई गर्दा थप तीन जनाको ज्यान गएको छ । गएराति उपचारकै अभावमा २० वर्षीया य्ुवतीको मृत्यु हुनुअघि ५१ वर्षीया महिला र ६० वर्षीय एक वृद्धको पनि उपचार अभावकै कारण ज्यान गएको थियो ।

जिल्ला प्रशासन कार्यालय, पर्साले बिरामीका स्वास्थ्यप्रति गम्भीर हुन जारी गरेको आदेशलाई अस्वीकार गर्दै यहाँका निजी तथा सरकारी अस्पतालहरुले विरामीको उपचार गर्न आनाकानी गर्दै आएका छन् ।

न्युज२४बाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment