अवैध रूपमा हरियो चिया भारत निकासी हुदा सुर्य‍ोदयका उधोग संकटमा

 

इलाम, २४ साउनः  सुर्योदय नगरपालिकाको हरियो पत्ती भारतकोतर्फ निकासी हुन  थालेपछि स्थानीय चिया उद्योग संकटमा परेका छन्।

भारतीय सीमावर्ती क्षेत्रको नजिक रहेको सूर्योदय नगरपालिका भित्रका चिया किसानले वर्खा यामको सिजनको चियाका पत्ती भारतीय उद्योगीहरूलाई बिक्री गरिरहेका छन्। अहिले दैनिक २० देखि ३० हजार किलो हरियो चिया दार्जलिङ निकासी भइरहेको व्यवसायीहरूले बताएका छन्।

नगरपालिकाले लागू गरेको चिया कार्यबिधी अनुसार मूल्य नपाएपछि बाध्य भएर भारत चिया बिक्री गरेक‍ो किसानको भनाइ छ ।कार्यबिधीमा हरियो चिया अन्यत्रबाट ल्याउन र लान नपाईने ब्यावस्था छ ।तर यसबर्ष कार्यबिधी लागू हुन सकेन ।धेरै परिमाणमा चिया दार्जलिङको उद्योगमा जाँदा स्थानीय र केन्द्रीय सरकारले भने कुनै राजश्व पाउँदैनन्।  छब्बिसे, खोला गोदाम र हिले भञ्ज्याङहुँदै अवैध रूपमा  हरियो पत्ती निकासी हुने गरेको चिया उद्योगी पुनम राईले बताए।  घोडा र गाडीमा चियाको हरियो पत्ती सीमा क्षेत्रमा पुर्‍याउँछन्। त्यहाँ भारतीय व्यापारीहरू गाडी लिएर आउने गरेका छन्। हरियो चिया भारतीय बजारमा जाँदा नेपालका चिया उद्योग संकटमा परेका छन् भने भारतीयहरू नेपाली भूभागमा आउँदा कोरोना संक्रमणको डर पनि उत्तिकै भएको उद्योगी ज्ञानी सुब्बाको भनाइ छ ।

सूर्योदय नगरपालिकाभित्र मात्रै करिब ७० वटा चिया उद्योग रहेको र एउटा उद्योगमा कम्तीमा एक करोड रूपैयाँ लगानी रहेको चिया उद्योगीहरू बताउँछन्। यी सबै उद्योगले करिब चार हजार मानिसलाई रोजगारी दिएको सूर्योदय टि एसोसिएसनको दाबी  छ। 

कार्यबिधीमा कम्तिमा प्रतिकिलो ४० दिनुपर्ने ब्यावस्था छ । तर  २०  र ३० रूपैयाँ मात्र किसानले पाएका छन् । भारतीयहरूले प्रतिकिलो ३५ रूपैयाँसम्म भारु किसानलाई दिने गरेको एक किसानले बताए।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले भने उद्योगीहरूको दावी सही नभएको बताए। “यहाँका उद्योगीहरूले उचित मूल्य दिन चाहँदैनन। किसानले त जहाँबाट बढी पैसा आउँछ त्यहीँ सामान बिक्री गर्ने हो,” राईले भने, “सीमा नाकामा के समस्या हो हेरिदिनू भनेर गृह मन्त्रालयबाट पत्र पनि आएको छ। सीमा नाकाको आवत जावतलाई व्यवस्थित गर्दैछौं।”

नेपालको चियामा भारतको ब्राण्डिङ

भारतीय र तेस्रो बजारमा नेपालको भन्दा दार्जलिङको चिया गुणस्तरीय भनेर भारतले बजार प्रवर्द्धन गरेको छ। भारतीय बजारमा पनि नेपाली चियाको तुलनामा दार्जलिङमा उत्पादन भएको चियाले बढी मूल्य पाउने गरेको छ। 

तर, दार्जलिङका चिया उद्योगीहरूले भने नेपालबाट हरियो चिया लगेर तयारी चिया उत्पादन गर्ने गरेका छन्। नेपालबाट लगेको कच्चा पदार्थमा बनेको चियालाई नै भारतीयहरूले दार्जलिङको चिया भनेर ब्राण्डिङ गरिरहेको इलामका चिया उद्योगी एंव सूर्योदय एसोसिएसनका प्रबक्ता बुद्ध योञ्जनले बताए। 

रेडियाे वुद्धवाणीबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment