डाइभर्सनमा मोटरसाइकल ठोक्किँदा दुर्घटनाः इलाममा कार्यरत सहायक हवल्दारको मृत्यु, श्रीमती र दुई वर्षको छोरा घाइते

२०८२ असार १ गते , आईतबार


मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ भने उनकी श्रीमती र छोरा गम्भीर घाइते भएका छन्।


गएराति ८ं.३० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय इलाम दरबन्दी भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार बेलबारी नगरपालिका–४ निवासी ३१ वर्षीय जितेन्द्र चौधरीले चलाएको प्र. १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाइभर्सनमा दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।
दुर्घटनामा चौधरीकी २६ वर्षीया श्रीमती प्रहरी चौकी साखेजुङ रक्से इलाम दरबन्दी भई प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान विमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते भएका छन्। दुवै जनाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय इलामबाट कार्यालय कामको सिलसिलामा जेठ ३० गतेदेखि प्रहरी जवान धिमाललाई नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान इकाई कार्यालय धरानबाट लागूऔषध परीक्षण प्रतिवेदन लिएर आउन पठाइएको थियो भने प्रहरी सहायक हवल्दार चौधरीलाई जबरजस्ती करणी मुद्दाको फरार प्रतिवादी लीला भन्ने लोकबहादुर थापाको खोजतलास एवम् पक्राउको लागि खटाइएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment