कोरोनाबाट पछिल्लो २४ घण्टामा ७ को मृत्यु, मृतकको कुल संख्या १ सय १४ पुग्यो

काठमाडौं, २ भदौ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाएको छ । मन्त्रालयका अनुसार काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की, बाँकेमा एक/एक पुरुष र तनहुँ जिल्लाका एक महिला मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।

स्वास्थ्य अुनसार पाटन अस्पतालमा उपचाररत नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । ती पुरुषको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनी गत साउन ३० गते अस्पतालको भेन्टिलेटरमा भर्ना भएका थिए । यस्तै, बाँकेमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

यता, कास्कीको पोखरामा तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पनि पोखरास्थित कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साउन ३२ गते उपचारका लागि अस्पताल भर्ना गरिएको उनको गएराति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । त्यस्तै पोखरा महानगरपालिका–१६ का ८७ वर्षका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यस्तै, काभ्रेमा पनि कोरोना संक्रमणबाट गएराति ९८ वर्षीय वृद्धको मृत्यु भएको छ । साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी विराटनगर स्थित कोशी अस्पतालमा सोमबार साँझ एकजना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

शनिबार राति अस्पताल भर्ना भएका विराटनगर ८ मधुमाराका ४७ बर्षका पुरुषको आइसोलेसनमा उपचारकै क्रममा सोमबार साँझ ५ः३० बजे मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतक पुरुष बिरामी परेको बेला गत साउन २६ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । विरामी सिकिस्त भएपछि साउन ३१ गते अस्पताल भर्ना गरेर उपचार सुरु भएको सोही दिन रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment