गर्भवती महिलासहित ८ को मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या १ सय ८३ पुग्यो

काठमाडौं, ११ भदौ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा पर्सामा ३, ललितपुरमा २, कास्कीमा १ र रुपन्देहीमा २ जना गरी ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक गर्भवती महिला पनि छिन् ।

पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा ३३ हप्ताकी गर्भवती २३ वर्षीया संक्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । उनी हिजोमात्र कोरोाना संक्रमित भएको पुष्टि भएको थियो ।

यस्तै, पर्साको धोबीनी गाउँपालिका ३ का ७२ वर्षीय पुरुषको हिजो बेलुकी नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको छ । भदौ ८ गते अस्पताल भर्ना भएका थिए ।

यस्तै पर्साकै वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको मृत्यु पनि मृत्यु भएको छ । उनलाई साउन ३० गते परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यसैबीच, ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भदौ ७ गते अस्पतालमा भर्ना गरिएको उनको ९ गते कोरोना संक्रमण पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

स्थायी घर अर्घाखाँची भएका उनी काठमाडौंमै बस्दै आएका थिए । यस्तै, ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि गत भदौ ९ गतेदेखि उनलाई आइसीयुमा राखेर उपचार गरिँदै आइएको थियो । यता, कास्कीको पोखरामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

भदौ ७ गते कोरोना पुष्टि भएकी पोखरा महानगरपालिकाकी ३२ वर्षीया महिलाको आज विहान ८ बजे उपचारका क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । त्यस्तै रुपन्देहीमा कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको आईसीयूमा उपचारत तिलोत्तमा नगरपालिकार–२ शंकरनगर निवासी उनको मृत्यु भएको थियो । यता, कञ्चनपुरमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु भएको छ ।

उनीहरुको अहिलेसम्म श्वाब लिइएको छैन भने कोरोना हो वा होइन भन्ने पनि प्रश्न उठेको छ ।

न्युज२४ नेपालबाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment