भारतले भन्यो : ‘नेपालबाट गुणस्तरहीन चिया आयो, रोक्नू ', ‘अन्धाधुन्ध' चियाको आयात राेक्न पत्राचार

  • नमीन ढकाल 

इलाम : भारतीय टी बोर्डले नेपालबाट अवैध रुपमा चिया आयात गरिएको भन्दै आवागमन रोक्न माग गरेको छ। नेपालबाट ठूलो मात्रामा गुणस्तरहीन चिया भारततर्फ निर्यात भइरहेकाले बोर्डले ‘अन्धाधुन्ध चियाको आयात र नेपालबाट अवैध निकासी’ रोक्न नियमहरु लागु गर्न भन्दै केन्द्रीय वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको हो। पछिल्ला केही वर्षदेखि दार्जिलिङ टी बनाउने केही उद्योगले नेपालबाट आयात चिया प्रमाणीकरण नभएको भन्दै कारबाही गर्नुपर्ने माग राख्दै आएका छन्।

नेपालको सीमावर्ती क्षेत्रबाट निर्यात भएको हरियो पत्तीलाई प्रशोधन गरेर दार्जिलिङ टी को नामबाट विश्व बजारमा बिक्री गरिँदै आएको छ। भारतीय टी बोर्डका अनुसार पछिल्लो ३ वर्षमा ६०.३५ मिलियन किलोग्राम चिया भारततर्फ आयात गरिएको छ। जसमध्ये २३.४३ मिलियन किलोग्राम पुनः निर्यात भएको छ। बाँकी ३६।९२ मिलियन किलोग्राम चिया आन्तरिक बजारमा बिक्री गरिएको छ। नेपालबाट मात्रै ६ वर्षको अवधिमा ७१.९ मिलियन किलोग्राम हरियोपत्ती निर्यात भएको छ।

​नेपाली चिया क्षेत्र संकट रहेको कारण दार्जिलिङका चिया उद्योगलाई सस्तोमा खरिद गर्न पाएकोमा सवैभन्दा बढी फाइदा भएको बोर्डले जनाएको छ। तर यसले विश्व बजारमा भारतीय चियामाथि प्रश्न उठाएको जनाइएको छ। आन्तरिक बजारमा नेपाली चियाको प्रभुत्व बढेकोले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म दार्जिलिङ चियाको औसत मूल्य सन २०१८ को तुलनामा २७ प्रतिशतले घटेको जनाइएको छ। सन् २०१८ को लिलामी प्रक्रियामा दार्जिलिङ चिया प्रतिकेजी औसत ४८६.२१ रुपैयाँ रहेकोमा सन २०१९ मा ४८६।२१ पैसा प्रतिकेजी बिक्री भएको भारतीय टी बोर्डले जनाएको छ।


‘टि बोर्डको आदेश उल्लंघनले क्रेताको लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढ्नेछ। जसले फर्मलाई लिलामी प्रक्रियामा प्रवेश गर्नबाट रोक्न सक्छ।’ दार्जिलिङ टि एसोसिएसन (डिटिए) का सचिव कौशिक बसुले भने, ‘दोश्रो, यसले चिया वितरण इजाजतपत्र रद्द गर्न पनि सक्छ। जसको अर्थ फर्मले चिया बेच्न पनि सक्दैन।’

टेलिग्राफ अनलाइनमा प्रकाशित समाचार अनुसार बोर्डले पठाएको चिठीमा भनिएको छ ‘नेपाल सरकारले उनीहरुको देशमा उत्पादन भएको चियाका लागि कुनै पनि राष्ट्रिय मापदण्ड तोकेका छैनन्। यद्यपि हामीसँग एफएसएसए (आयात) विनियम २०१७ छ। एफएसएसएआई अनुसार चिया आयात सुनिश्चित गर्न उक्त विनियमको अर्थ पूरा रुपमा लागु गरिएको छैन। चियाको ३४ मापदण्डमध्ये केवल तीनदेखि चार मापदण्डको मात्र जाँच गरिँदै आएको छ।’ प्रदेश नं १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले जिल्लाका विभिन्न कार्यक्रममा नेपालमा गरिने परीक्षणमा विश्वास नहुँदा चिया निर्यातमा झमेला पैदा हुने गरेको बताउँदै आएका छन्।

भारतीय टी बोर्डको अनुसार खाद्य सुरक्षा मानक (पेकेजिङ र लेवलिङ) विनियम २०११ मा उल्लेखित निर्देशन पालना नगरी बेच्न गरिएको छ। दार्जिलिङ चिया निर्माणमा अग्रणी संस्था अम्बुटिया ग्रुपका अध्यक्ष संजय वंशलले भने, ‘यो कदमले उपभोक्ताहरुको हितको रक्षा गर्नेछ जसले कमसल चियाका लागि बढी रकम तिरिरहनुपरेको छ। र यसले दार्जिलिङ चिया व्यपारलाई सहयोग पु¥याउँछ। जसले चिया बोर्डलाई गत १० वर्षदेखि आन्तरिक बजारमा बेचेको आयातित चियाको गुणस्तर जाँचमा सहयोग पुर्‍याउनेछ।’

सन २०१७ को जुनदेखि सेप्टेम्बरसम्म गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्यान्डको माग राखेर गरेको हडतालका कारण नेपाली चियालाई भारत प्रवेशको ढोका खुलेको थियो। जसका कारण भारतीय बजारमा नेपाली चियाले आफनो छाप छाड्न सफल रह्यो। भारतीय पक्षले दार्जिलिङ चियाको वर्चस्व तोड्दै नेपाली चियाले विश्व बजार प्रवेश सुरु गरेको आरोप लगाएको छ। डिटिएका सचिव बसुले नेपाली चिया प्रतिबन्ध लगाउन गाह्रो रहेको बताए। ‘भारतसँग नेपालसँग स्वतन्त्र व्यापार सम्झौता छ। हामीले टि बोर्डलाई नेपाली चियामा निगरानी राख्न आग्रह गरेका छौं ताकि बजारमा दार्जिलिङ टिको नाममा बेच्न नपाऊन्।’ उनले भने

अझै पनि हरियो पत्ती भारत जान्छ

नेपाली चिया बारम्बार विवादमा पर्न थालेपछि भारतीय सीमावर्ती क्षेत्रको नजिक रहेको सूर्योदय नगरपालिका भित्रका चिया किसानले बर्खा यामको सिजनको चियाका पत्ती भारतीय उद्योगीहरूलाई बिक्री गरिरहेका छन्। दैनिक मात्रामा ठूलो परिमाणमा चिया भारततर्फ गइरहेको उद्योगीहरु बताउँछन्। दैनिक मात्रामा ४० देखि ५० हजार केजी भारततर्फ जाने गरेको सूर्योदय टि प्राड्युर्स एसोसिएनसका कार्यवाहक अध्यक्ष डिल्लीराम श्रेष्ठले बताए। भारततर्फ चिया निकासी हुँदा सरकारले राजस्वसमेत पाउँदैन।

खुला सीमाका कारण इलामबाट दार्जिलिङ तर्फको छब्बिसे, खोला गोदाम, नाखापानी र हिलेभञ्ज्याङ हुँदै अवैध रूपमा चियाको हरियो पत्ती निकासी हुने गरेको श्रेष्ठले बताए। नेपालबाट घोडामा लोड गराएर चिया सीमासम्म पु¥याउने गरिएको छ, त्यसपछि भारतबाट गाडी आएर चिया लिन आउने गरेका छन्। नेपाली चिया उद्योगको तुलनामा भारतबाट बढी आम्दानी हुने गरेको कारण किसानको रोजाइ त्यसतर्फ हुने गरेको छ। कोरोना कहरको समय चियाको राजधानी मानिएको सूर्योदय नगरपालिका र चिया उद्योगीहरुको साझा संस्था सूर्योदय टि प्रोडयुसर्स एसोसिएसनबीचको मूल्य विवादका कारण पनि अवैध रुपमा भारततर्फ हरियोपत्ती गएको हो।

नगरले २ वर्षअघि बनाएको ‘गुणस्तरीय चिया कार्यान्वय कार्यविधि २०७५’ अनुसार न्युनतम ४० रुपैयाँ हरियो पत्तीको मूल्य दिनुपर्ने बताए पनि उद्योगीहरुले आर्थिक संकट र तयारी चिया बिक्री गर्न समस्या रहेकाले कार्यविधि अनुसार दिन नसक्ने अडान राखेका थिए। ‘दार्जिलिङमा दैनिक ५० हजार केजीसम्म चिया जान्छ। केही दिनअघि हामीले त्यही गएर हेरेका थियौं। हामीले दिने मूल्यभन्दा धेरै फरक नभए पनि किसानहरु भारततर्फ नै चिया दिने गरेका छन्। हामीले ४० दिँदा उनीहरुले दिने त्यही ४२(४५ मात्र हुन्छ,’ श्रेष्ठले भने, ‘सायद कोरोनाको बेला फस्ट फल्सको समयमा आएका सबै चिया खरिद गर्न पनि सकेनौं र उचित मूल्य दिन पनि किसानहरुले भारततर्फ पठाएका हुन्।’

लाेकल सन्देशबाट साभार गरिएकाे


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता