परीक्षणमा प्रश्न : ३ वटा अस्पतालमा रिपोर्ट नेगेटिभ, एउटामा पोजेटिभ, विरामीको खल्ती साफ


अफ्ताव आलम मेकरानी

काठमाडौं, २७ भदौ । पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छ/छैन भनेर पत्ता लगाउन गरिने पीसीआर परीक्षणको गुणस्तरमा प्रश्न उठ्दै आएको छ । अस्पताल पिच्छे भिन्दा–भिन्दै रिपोर्ट आउन थालेपछि पीसीआर परीक्षणको गुणस्तरमा तीब्र रुपमा प्रश्न उठ्न थालेको हो ।

सोही प्रकृतिको घटनाले पीडित बनेका छन्, रौतहटका अफ्ताव आलम मेकरानी पनि । सामान्य ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि आफ्ताव काठमाडौंको कलंकीस्थित नेपाल नेशनल हस्पिटल पुगेका थिए ।

नेपाल नेशनल हस्पिटलले उनको स्वाब संकलन ग¥यो र परीक्षणका लागि आफ्नोमा ल्याब नभएको भन्दै सानेपास्थित स्टार अस्पताललाई स्वाब पठायो । स्टार हस्पिटलले यही भदौ १९ गते पीसीआर रिपोर्ट नेगेटिभ रहेको प्रमाण–पत्र थमायो ।

तर, कोरोना रिपोर्ट नेगेभिट आएपनि आफ्तावको समस्या कम भएन । त्यसपछि उनलाई झन शंका लाग्न थाल्यो र दुई दिन पछि (भदौ २१ गते) पुनः परीक्षणका लागि शुक्रराज ट्रपिकल अस्पताल, टेकु पुगे । तर, त्यहाँ पनि अफ्तावको रिर्पोट नेगेटिभ नै आयो ।

दुई–दुई वटा अस्पतालले कोरोना नेगेटिभ रिपोर्टको प्रमाण–पत्र थमाए पनि अफ्तावको स्वास्थ्य समस्या कमी आएन । त्यसपछि अफ्तावलाई कोरोना परीक्षणप्रति झन शंका लाग्न थाल्यो । त्यसपछि आफन्तकै सल्लाहमा उनी भदौ २३ गते ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुगे ।

नेपाल मेडिसिटी अस्पतालले भने विरामी भनिएका अफ्तावलाई सीधै भेन्टिलेटरमा राखेर उपचार सुरु ग¥यो । त्यसपछि कोरोना परीक्षणका लागि स्वाब संकलन पनि ग¥यो । मेडिसिटीमा भने अफ्तावको रिपोर्ट पाजेटिभ आयो ।

यसरी अफ्तावको कोरोना पोजेटिभ रिपोर्ट आएसँगै मेडिसिटीले उपचार गर्न नसक्ने भन्दै टोखास्थित ग्राण्डीमा रिफर ग¥यो । टेकु अस्पताल जाने भनेपनि मेडिसिटीले जबरजस्ती ग्राण्डी पठाएको विरामी अफ्तावका भाई मुन्ना अन्सारीले बताए ।

उनले भने, ‘अब यहाँ हामीले राख्दैनौं । अन्तै व्यवस्था मिलाउनुस् । हामीले इलाज पनि गर्दैनौं । हाम्रो नन् कोभिड अस्पताल हो, भने ।’ त्यसपछि १७ घण्टा उपचार गरेको मेडिसिटीले दुई लाख ९७ हजारको बिल थमायो ।

केही नभनीकन बिल तिरेर अफ्तावलाई टोखास्थित ग्राण्डी अस्पतालमा लगियो । तर, ग्राण्डीले गरेको कोरोना रिपोर्ट पुनः नेगेटिभ आयो ।

यसरी ५/६ दिनको अविधिमा ४ वटा अस्पतालले कोरोना परीक्षण गर्दा ३ वटा नेगेटिभ र १ वटा पोजेटिभ रिपोर्ट आएपछि अफ्ताव अस्पतालकै लापरबाहीले पीडित बन्न पुगेका छन् । हाल उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

न्युज२४ नेपालबाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment