समुदायमा संक्रमण फैलिएपछि धमाधम आइसोलेसन बनाउँदै झापाका स्थानीय सरकार

झापा, २३ भदौ । कोरोना भाइरसको संक्रमण समुदायमै फैलिएपछि झापाका स्थानीय तहहरुले धमाधम आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याएका छन् ।

पूर्वमा संक्रमित उपचारका लागि व्यवस्था गरिएका अस्पतालमा संक्रमित भरिएपछि स्थानीय सरकार आफैँ आइसोलेसन निर्माणमा जुटेका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले स्थानीय तहमै आइसोलेसन निर्माण गर्न निर्देशिका जारी गरेको थिया ।

जिल्लामा समेत संक्रमित बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति झापाले व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा २५ शैयाको आइसोलेसन निर्माण गर्ने निर्णय ग¥यो ।

जिल्लामा समुदायस्तरमा समेत कोरोना देखिएपछि धेरैजसो पालिकाहरुले आइसोलेसन वार्डको व्यवस्थापन गरिसकेका छन् । जिल्लाका १५ स्थानीयतहहरुमध्ये संक्रमितको संख्या बढी रहेका पालिकाहरुले आइसोलेसन निर्माण गरिसकेका छन् ।

कतिपय पालिकाले स्थानीय स्वास्थ्य चौकीलाई र कतिपयले सामुदायिक विद्यालयको भवनलाई आइसोलेसनका रुपमा विकास गरेका छन् ।

झापाको दमक, गौरादह, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिकाले आइसोलेसन वार्ड निर्माण गरिसकेका छन् । स्थानीय स्रोत, साधन र जनशक्तिले भ्याएसम्म आइसोलेसनलाई व्यवस्थित गर्ने प्रयास गरिएको स्थानीय पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् ।

‘निर्देशिकाको मापदण्डअनुसार नै हामीले आइसोलेसनको व्यवस्था गरेका छौँ’ अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले भने, ‘एक संक्रमित, एक शौचालयदेखि स्वास्थ्य, सुरक्षाका सबै व्यवस्था हाम्रो आइसोलेसनमा छ ।’

यसअघि दमक अस्पताल र मेची अञ्चल अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको थियो । झापाका स्थानीय तहहरूले शङ्कास्पद कोरोना सङ्क्रमणका बिरामीलाई भद्रपुरस्थित मेची अञ्चल अस्पताल र दमकको दमक र आम्दा अस्पतालमा पठाउँदै आएका थिए ।

संक्रमितहरुलाई भने प्रदेश सरकारले निर्माण गरेको आइसोलेसन र अस्पतालमा पठाउने गरिएको थियो । अहिले भने संक्रमितलाई सम्बन्धित पालिकाको आइसोलेसनमा र लक्षणसहितका संक्रमितलाई मेची प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा राखिन थालिएको छ ।


धेरैजसो स्थानीय तहले आइसोलेसन बनाइसकेका छन्, केहीले बनाउदैछन्’ स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौम्लागाईँले भने, ‘संक्रमितहरुको अवस्थाअनुसार उनीहरुलाई कहाँ राख्ने भन्ने प्रक्रिया समेत मिलाइएको छ ।’

झापामा आइसोलेसनमा रहेका सक्रिय संक्रमित १ सय ५० भन्दा बढी छन् । जिल्लामा कुल संक्रमितको संख्या ६ सय ५० नाघिसक्दा ३ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसँगै ‘कन्ट्रयाक ट्रेसिङ्ग’ मा समेत नपरेका समुदायका मानिसहरुमा समेत संक्रमण पुष्टि भइसकेको छ ।

जसले गर्दा झापामा संक्रमण तीव्ररुपमा फैलिने जोखिम बढेको छ । त्यसैले गर्दा अब आइसोलेसन वडाहरुलाई व्यवस्थित गर्नुपर्ने बेला आएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment