एक महिलासहित १४ को मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुग्यो

काठमाडौं, १९ भदौ । पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार जना महिला र दश जना पुरुष रहेका छन् । जसमा काठमाडौंका ७८, ६७ र २२ वर्षीया तीन जना महिला सहित चितवनकी ३५ वर्षीया महिला रहेकी छन् ।

त्यसैगरी सप्तरीका ५५ बर्षका २ जना पुरुष सहित धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्यूठानका ५८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै देशभर कुल मृतकको संख्या २ सय ७१ पुगेको छ । मन्त्रालयका अनुसार रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण आज तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका सङ्क्रमितको मृत्यु भएको हो ।

होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको छ । मिर्गौलाले काम नगरेपछि चितवनमा डायलायसिस गरेर फर्किएका उनको बिहान मृत्यु भएको बताइएको छ ।

यस्तै बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर–७ की ६४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यही भदौ ४ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचाप, मधुमेह, मिर्गौला र निमोनियाको समस्या रहेको र कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि बिहान बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।

यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यसैगरी धनुषामा थप एक मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको आन्ध्र प्रदेशको विशाखापटनम घर भई धनुषामा कार्यरत ६५ वर्षीय पुरुषमा मृत्युपश्चात् कोरोना संक्रमण पुष्टि भएको हो ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं। ३ रमदैयास्थित लोमस प्यारेन्टेरल एण्ड फोरमुलेसन प्रालिमा विगत ४ वर्षदेखि जनरल म्यानेजरको रुपमा कार्यरत ती पुरुषको कम्पनीकै आवासगृहमा बिहीबार बिहान मृतअवस्थामा शव फेला परेको थियो ।

यससँगै धनुषा जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ६ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट विहीबार साँझ मृत्यु भएको हो । योसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ८ पुगेको छ ।

प्रदेश नम्बर २ का दुई जना कोरोना संक्रमितको धरानमा ४५ मिनेटको फरकमा मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

बिहीबार दिउँसो प्रतिष्ठानका कोभिड अस्पतालमा भर्ना भएका राजविराज ७ सप्तरीका ५५ वर्षीय पुरूष र सोही स्थानकै ५५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो । प्रतिष्ठानमा हाल सम्म २१ जना कोरोना सक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment