- उत्तम पौडेल,

पोखरा, १९ भदौ । पोखरामा गत बिहीबार कोरोना संक्रमणको कारणबाट दुई जनाको ज्यान गयो । ती मध्ये एकजना मृतक पोखराको लेकसाइड ९ नं गल्लीका संक्रमित थिए ।
उनलाई बिहीवार मात्रै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसीयुमा उपचारका लागि ल्याइएको थियो । त्यही उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले घोषणा गर्यो ।
कन्ट्याक्ट ट्रेसिङ्गमा परेका उनले आफ्नै खर्चमा स्वाब टेष्ट गरेका थिए । कुनै पनि दीर्घ रोग नभएका उनीमा संक्रमण देखिए पछि आइसोलेसनमा बस्नुपर्ने भयो । होम आइसोलेसनमा बस्न खोजेका उनलाई लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पताल भनेर प्रदेशले तयार गरेको आइसोलेसनमा लगियो ।
उनले आइसोलेसनमा बस्दा आइसोलेसन तथा अस्पताल र त्यहाँको बेथितिको बिषयमा एसएमएस मार्फत बिभिन्न साथी तथा सरोकारवालाहरुलाई जानकारी गराएका थिए । लेखनाथमा उनी बसेको आइसोलेसनमा सरसफाइ नभएको, खाना राम्रो नभएको, डाक्टर तथा चिकित्सकको उपस्थिति नहुने गरेको जानकारी गराउँदै आएको एसएमएस उनको मृत्यु भएपछि न्युज २४ ले फेला पारेको छ ।
डाक्टर तथा चिकित्सकहरुको मनोबल नगिर्ने गरि समस्या उजागर गरिदिन आग्रह सहितको सो एसएमएसमा लेखिएको छ ।
उनको एसएमएसमा १० जना संक्रमितलाई एउटै थर्ममिटर प्रयोग गरिने, ज्वरो आफै नापेर नर्सलाई टिपाउनुपर्ने , प्रेसर नाप्ने मेसिन एउटा मात्र प्रयोग हुने गरेको जसका कारण संक्रमणको जोखिम अझै धेरै रहेको तथा शौचालयमा साबुन तथा सेनिटाइजर केही नभएको पनि लेखिएको छ ।
आइसोलेशनमा आफुसँगै रहेका १० जना बेवारिसे अवस्थामा रहेको उनले बताएको उनका आफन्तको भनाइ छ । आइसोलेसनमा डाक्टर नआउने तथा खाना बस्नको राम्रो प्रबन्ध नभएको तथा उनको स्वास्थ्यमा समस्या आएको लामो समय पछि मात्र अस्पताल ल्याइ पुर्याइएको पाइएको छ ।
उनलाई राखिएको सो आइसोलेसनमा न त भेन्टिलेटर छ न त आइसीयु नै छ । तर सामान्य संक्रमितलाई मात्र सो आइसोलेसनमा राखिने गरेको बताइएको छ ।
बिना आइसोलेसन र भेन्टिलेटर कोरोनाका बिरामी राख्ने सो अस्पताल कसरी तयार भयो? प्रश्न यता सोझिएको छ । यता उनका परिवारको श्रीमति र बच्चाहरुको स्वाब शुक्रबार (आज) मात्र लिइएको छ ।
यसरी पोखराको आइसोलेसनको बेथितिको कारण कुनै दीर्घ रोग नभएका र समयमा उपचार नपाएका युवाको ज्यान जानुले पोखराको आइसोलेसनको हालत छर्लङ्ग पारेको छ । सरकार भने सबै ब्यवस्थापन चुस्त बनाएको र जनताको स्वास्थ्यमा जिम्मेवार भएको दाबी गरेको छ ।
पोखराको आइसोलेसनको स्तरोन्नति गर्न नसक्ने हो र ब्यवस्थापन चुस्त नबनाउने हो भने नाम मात्रका यस्ता आइसोलेसनमा ज्यान जानेको संख्या बढ्नेमा दुई मत हुन्न ।
न्युज२४नेपालबाट साभार गरिएकाे
0 comments:
Post a Comment