इलाम देउमाइको झ्याउपोखरी एक परिचयः धेरै अघि यहाँका हाँस तथा देवता माइपोखरी सरेको भन्ने बुढापाकाहरुको किम्बदन्ती

  • बिमल अधिकारी

देउमाइ, २६ कार्तिकः इलाम जिल्लाको देउमाइ नगरपालिका ८ मा एउटा प्राकृतिक अनि मनमोहक पोखरी रहेको छ। इलाम  सदरमुकामबाट लगभग ३५ किलोमिटर पश्चिममा पर्ने देउमाइ नगरपालिकाको एउटा सुन्दर पर्यटकिय गन्तब्य बन्न सक्ने महत्त्व बोकेको यो पोखरीको नाम झ्याउपोखरी  हो । इलाम सदरमुकामबाट पुवाखोला, शान्तिडाडाँ गाग्रेभन्ज्याङ पानीटार जितपुरे हुँदै यहाँ सम्म आउन सकिन्छ भने झापाको बिर्तामोड सनिश्चरे दानाबारी सोयाक सिद्दिथुम्का हुँदै ५२ किलोमिटर कच्ची सडको यात्रा गरेर पनि यहाँ सम्म आइपुग्न सकिन्छ ।  साबिक जीतपुर गाविसको वडा नं. २ र ४ को वीचमा  अवस्थित झ्याउपोखरी यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्व बोकेको पोखरीका रुपमा परिचित छ ।
सामुन्द्रीक सहत देखि १४१८ मीटरको उचाइमा रहेको यो पोखरी २६ डि. ५३ मि. ०९ से. देखि २६ डि. ५३ मि. १३ से. उत्तरी अक्षांश र  ८७ डि.४९ मि. ३९ से. देखि ८७ डि. ४९ मि. ४६ से. पूर्बी देशान्तरमा रहेको छ । वरिपरीबाट पोखरीले घेरिएको टापु सहित यो पोखरी लगभग दुई हेक्टर जमिनमा फैलिएको छ। 
दिन ढल्किएर साझ परेपछी  झ्याउकिरीको आवाजले पोखरी आसपासको क्षेत्र गुञ्जयमान हुने भएकोले यसको नाम पनि झ्याउपोखरी रहन गएको  स्थानीय समूदायको विश्वास रहेकोछ, त्यस्तै यस पोखरीमा धेरै अगाडि झ्याउ रहेको कारण पनि यसलाइ झ्याउपोखरी भनिएको हुन सक्ने स्थानीय बताउछन ।

पाँचवटा कुनामा फैलिएको रमणीय पोखरीको वीचमा अग्लो थुम्की र वरिपरिको हरियाली वन र  चियावगानले यस क्षेत्रलाई रमणीय बनाएकोछ । पोखरी कसरी उत्पति भएको हो, त्यसका बारेमा त कुनै ठोस प्रमाणहरु भेटिदैनन् तर पहिलेको ठुलो पोखरीमा फोहोरमैला हुदै गएपछि त्यहाँका देवि  देवता बाजाबजाउदै गएपछि पोखरी सुक्न थालेको स्थानीय बुढापाकाहरुको भनाई रहेकोछ । पोखरी विशाल रहेको बेला त्यहाँ बोका, कुखुरा भाकेर पुजाआजा गरिन्थ्यो । धुले पुजा भब्यरुपमा गरिन्थ्यो । पोखरीको नजीकै दत्तात्रय मन्दिर रहेकोछ । कतिपयले पोखरी ठुलो भएको बेला हाँसहरु प्रशस्तै हुन्थे र ती हाँस मारेपछि पोखरी सुक्दै गएको बताउछन । मानव वस्तीको कारण फोहोरमैला बड्दै गएको  र धेरै अगाडि पोखरीमा मानिस डुबेर मृत्यु भएको र मान्छे खोज्न  पोखरीको पानी खोलेर बाहिर बगाएपछी पानीको सतह घटि  त्यहाका हास तथा देवता मध्यरातमा बाजा बजाएर जितपुर हुँदै माईपोखरी सरेको  भन्ने समेत  स्थानीय बुढापाकाहरुको किम्बदन्ती छ।

पोखरीको पूर्वतर्फ वनजंगल र उत्तरपश्चिममा बाक्लो बस्ती र दक्षिणतर्फ सुन्दर चियाबारी रहेकोछ । पोखरीमा पहिले पहिले लामिछानेहरुले पुजाआजा गर्ने गर्दथे तर अहिले सामुहिक रुपमा पुजाआजा  हुने गर्दछ । झ्याउपोखरीको दर्शन गरेमा वा पुजाआजा गरेमा मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकोछ । त्यस्तै यो पोखरी बिचमा थुम्को भएको र वरिपरि घुमेको हुदा यदि पोखरीको पानी जोडियो भने सहकाल आउँछ , अन्न बाली सप्रीन्छ भन्ने पनि बिस्वास रहिआएको छ। पोखरीको वीचमा रहेको थुम्कीमा एउटा मन्दिर निर्माणाधिन रहेकोछ । स्थानीयबासीका अनुसार त्यसपोखरीमा नाग देखापरेको थियो र नागको समेत पुजाआजा हुने गर्दछ । कृष्णअष्टमीका दिन यस स्थानमा विशेष पुजाआजा हुने गर्दछ ।

केही बर्ष अघिबाट  झ्याउपोखरीको संरक्षण गर्नु पर्छ भनेर यस्को संरक्षण समिति गठन भई क्रियाशिल रहदै आएकोछ । स्थानिय निकाय, जलाधार संरक्षण सम्बन्धित सस्था, पर्यटन सग सम्बन्धित सस्थाको पहल तथा लगानीमा गत साल  पोखरीको लेउ को माथिल्लो एक पत्र फ्याकेर पानी नसुक्ने बनाउने प्रयास गरिएको देखिन्छ। यस्तै पोखरीको वरिपरि रिङरोड बनाउने, बिरुवा रोप्ने , पानीको श्रोत खोजेर पानी ल्याउने लगायतका काम भएका छन। हाल उक्त माथिल्लो पत्र फ्याके पछि पोखरिको विभिन्न ठाउँ बाट प्रकृतिक रुपमा पानी उम्रीन पनि थालेको छ। यस्तै यो बर्षको हिउँद लागे पनि अझै सम्म पानीको सहत लगभग बर्खामा जस्तै अडिरहेको देखिन्छ।  स्थानीय वातावरणलाई जोगाउन वृक्षारोपणको समेत थालनी भएको स्थानिय पुस्पा मगर बताउनु हुन्छ। 

यहाँ गठित संरक्षण समितिकै पहलमा चरीचरन निषेध गरिएकोछ । तर संरक्षणका लागि गर्नु पर्ने धेरै कामहरु बाँकी रहेकाछन । पोखरीको पुनस्थापना गरी पानी सञ्चय गर्नु नै प्रमुख आवश्यकता रहेकोछ । तत्कालका लागि यस पोखरीको सरसफाई, यहाँ उम्रिएको पानीलाई सदाबहार बनाउन तेस्ता प्रजातीका बनस्पती रोप्नु , घेराबारा गर्नु,  अन्यत्रबाट पानी ल्याई भर्नु, मन्दिरनिर्माण, वृक्षारोपण, धार्मिक तथा पर्यटकीय प्रचार प्रसार र प्रवर्धन गर्नु पर्ने हुन्छ । जसका लागि स्थानीय समुदाय, संघसंस्था,  स्थानीय निकाय ,  लगायतले विशेष पहल र अग्रसरता लिन जरुरी रहेकोछ । यस क्षेत्रलाइ ब्यबस्थापन गरि प्रचारप्रसार गर्ने हो भने पर्यटनको दरिलो स्थान बन्ने पक्का देखिन्छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment