भारतमा प्रयोगमा ल्याइएको कोरोनाविरुद्धको दुई खोप नेपाल ल्याउने तयारी, ६ सय रुपैयाँमा उपलब्ध हुने


काठमाडौं, १९ पुष । भारतमा कोरोनाविरुद्धको दुईवटा खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । भारतको औषधि नियामक संस्था ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले अक्सफोर्डको खोप कोभिडशिल्ड र भारत मै उत्पादन भएको बायोटेक कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

भारतमा अनुमति पाएको कोभिडशिल्ड खोपलाई नेपाल ल्याउने तयारी पनि तीब्र पारिएको छ । भारतको औषधि ड्रग्स कन्ट्रोलर जनरले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको भारत मै उत्पादन भएको ‘कोभिसिल्ड’ र भारत बायोटेकले विकास गरेको ‘कोभ्याक्सिन’ नामक दुई खोपलाई आपतत्कालीन प्रयोगको लागि स्वीकृति दिएको हो ।

भारतमा यी दुई खोपले अनुमति पाएसंगै नेपालमा पनि कोरोनाबिरुद्धको खोप नेपाल ल्याउन भारतका लागि नेपाली राजदूत निलाम्बार आचार्यले खोप उत्पादन कम्पनी र भारतका उच्च अधिकारीहरुसंग भेटघाट गरिरहेको जानकारी न्यूज २४ लाई दिनुभएको छ ।

जनवरी १५ पछि भारतले कोरोनासिविरुद्धको खोप दिने अभियानको औपचारिक आरम्भ गर्ने योजना बनाएको छ । भारतमा कोरोना खोप दिन थाल्ने बित्तिकै नेपालमा पनि भारतमा प्रयोग हुने खोप नै ल्याउने तयारी गरिएको र भारतको खोप निर्माता कम्पनीहरुसंग समेत भेटघाट गरेको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिनुभयो ।

संसारको सबै भन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको पुणेमा रहेको सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको खोप उत्पादन गरिरहेको छ ।

कम्पनीले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप पहिलो चरणका लागि उपलब्ध गराउने बताएको छ । भारतले खोप खरिद गर्दा नेपाललाई समेत २० प्रतिशत हुने गरी खरिद गर्ने र सोको भुक्तानी नेपाल सरकारले भारत सरकारलाई गर्ने अनुरोध सहितको पत्राचार गरिएको छ ।

अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको खोप दुई डोज लगाउँदा ७० देखि ९० प्रतिशत प्रभावकारी देखिएको छ । यो खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिन्छ ।

यो खोप नेपाल ल्याउदा नेपालमा अहिले भएको भण्डार व्यवस्थाले नै काम गर्ने हुँदा यही खोप ल्याउन सरकार लागीपरेको छ । यो खोप २ डोजको नेपाल सरकारलाई ६ सय रुपैयाँमा दिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment