प्रदेश १ : सरकारी ट्रायल सेन्टरको बेवास्ता, निजीलाई पोस्ने नीति

झापा, ८ माघ । प्रदेश १ सरकारले गत पुष दोस्रो साता सवारी चालक अनुमति पत्रका लागि ट्रायल परीक्षाको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय ग¥यो । सरकारी ट्रायल सेन्टर बन्द गरी यातायात व्यवस्था कार्यालय प्रतिस्पर्धाका आधारमा निजी ट्रायल सेन्टर छनोटको प्रक्रियामा छ ।

तर, सरकारी ट्रायल सेन्टरलाई बेवास्ता गरी सेटिङ र पूर्वयोजना अनुसार नै निजीलाई पोस्ने नीति लिइएको प्रष्ट देखिएको छ ।

आफ्नै स्वामित्वको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर) हुँदाहुँदै झापामा रहेको यातायात व्यवस्था कार्यालय मेचीका लागि आह्वान गरिएको बोलपत्रमा सेटिङ र पूर्व योजना अनुसार कान्तिपुर भेहिकल एण्ड प्रि–टेष्ट सेन्टरले मात्र निवेदन दर्ता गरेको छ ।

प्रदेश १ सरकारलाई निर्णय नै गर्न लगाएर भौतिक पूर्वाधार मन्त्रालयले निजी क्षेत्रले निर्माण गरेको स्थलमा ट्रायल गर्न परिपत्र गरेपछि कार्यालयले प्रक्रिया सुरु गरेको थियो ।

मन्त्रालयको निर्देशन बमोजिम यातायात कार्यालयले दुई पटक सूचना प्रकाशन ग¥यो । कार्यालयले पुष १५ र पुष २९ गते दुईपटक सूचना प्रकाशन गरेर ट्रायल स्थल निर्माण गरेका ब्यवसायीलाई बोलपत्र पेश गर्न आह्वान गरेको थियो ।

दोस्रो पटक सूचना प्रकाशन भएको अन्तिम दिन एउटा मात्रै बोलपत्र दर्ता भएको यातायात ब्यवस्था कार्यालय मेचीका निमिक्त प्रमुखले गोपीचन्द्र बोहोराले बताए ।

‘प्रतिष्पर्धाबाट ट्रायल स्थलको छनौट गर्ने भनेर सूचना प्रकाशन गरिएको भएपनि अरु ड्राइभिङ सेन्टरले बोलपत्र नहालेपछि के गर्ने भनेर अन्यौल छ’ उनले भने, ‘कार्यलय प्रमुख बिदामा हुनुहुन्छ उहाँ आएपछि निर्णय मात्रै निर्णय हुन्छ ।’

सेटिङ र पूर्व योजना बमोजिम बिर्तामोडको उक्त कान्तिपुर भेहिकल एण्ड प्रि–टेष्ट सेन्टरले सरोकारवाला निकायलाई प्रभावमा पारेर ट्रायल सेन्टर हत्याउने देखिएको छ ।

उक्त सेन्टरका सञ्चालकले प्रदेश यातायात व्यवस्था निर्देशनालय हुँदै मन्त्रालय मार्फत् नीतिगत निर्णय गराएको पाइएको छ । ड्राइभिङ स्कुल सञ्चालनका लागि नीति र नियमावली नबनेको अवस्थामा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ अनुसार मात्र पनि झापाका कुनैपनि ड्राइभिङ स्कुल तथा ट्रायल सेन्टरहरु नविकरण भएका थिएनन् ।

तर, कान्तिपुरले भने माघ ६ गते निर्देशनालय नविकरण गरेर ७ गते बोलपत्र दर्ता गराएको पाइएको छ । दोस्रो पटक सूचना प्रकाशन भएको मिति सकिन १ घण्टा बाँकी रहँदा कान्तिपुरको बोलपत्र दर्ता भएको थियो ।

कान्तिपुरका सञ्चालकहरु नै माथिदेखि तलसम्मै मिलाएर सेन्टरको अनुमति ल्याउन लागिएको बताउछन् । एक गोप्य वार्तामा कान्तिपुरका सञ्चालकमध्येका एकजना डिल्ली चुँडालले प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राईसमेतको सेटिङमा आफ्नो संरचनामा ट्रायल गर्नेगरी प्रक्रिया अघि बढाइएको बताएका छन् ।

त्यस्तै अर्का सञ्चालक ऋषिकेश सुवेदीले सबै प्रक्रिया मिलेकाले ट्रायल आफुहरुको सेन्टरमा हुने दाबी गर्दै सेवाग्राहीलाई भर्नाका लागि आह्वान गर्दै आएका छन् । मनोज सुवेदी, डिल्ली चुँडाल र ऋषिकेश सुवेदीको लगानीमा निर्माण भएको ट्रायल स्थल सरकारले तोकेको मापदण्ड बमोजिमको रहेको बताइएको छ ।

यातायात व्यवस्था कार्यालय मेचीले बिर्तामोड–२ स्थित चारपानेमा श्रीकृष्ण प्रणामी मन्दिरको २ बिगाहा १२ कठ्ठा जमिन १० वर्षको लागि भाडामा लिएर लाखौँ रुपैयाँ खर्च गरि निर्माण भएको सेन्टरबाट ट्रायल परीक्षा लिदै आएको थियो ।

जसको सम्झौता अझै केही वर्ष बाँकी नै रहेको अवस्थामा मन्त्रालय र निर्देशनालयले बिर्तामोडमा संरचना भए÷नभएको अध्ययन नै नगरी निजी क्षेत्रका व्यवसायीले निर्माण गरेको संरचनामा ट्रायल गर्न परिपत्र गरेको छ । निजी क्षेत्रका व्यवसायीको प्रलोभनमा परेर प्रदेशले सरकारी संरचना भएपनि ट्रायल अन्यत्र गर्न लागेको हो ।

प्रदेश यातायात व्यवस्था निर्देशनालय इटहरीका प्रमुख भीम गौतमको संयोजकत्वमा सवारी लाइसेन्स ट्रायल सेन्टर सुदृढीकरण सम्बन्धमा गठित कार्यादयलले ट्रायल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन उपयुक्त हुने सुझाव दिएको थियो । गौतम यातायात व्यवस्था कार्यालय मेचीको पूर्वप्रमुख समेत हुन् ।

निजी ट्रायल सेन्टरमा शुल्क मात्र महंगो होइन, सेन्टरकै सवारीसाधनले ट्रायल दिनुपर्ने हुन्छ । त्यसो त सवारीसाधन चलाउनै नजान्नेलाई पास भएको देखाएर चालक अनुमतिपत्र दिने विकृति पनि छ । तीन वर्ष पहिले निजी ट्रायल सेन्टर सञ्चालक र यातायातका कर्मचारीको मिलेमतोमा ६ सय जनालाई त्यसरी चालक अनुमतिपत्र दिएको सार्वजनिक भएको थियो ।

त्यसैले निजी क्षेत्रलाई जिम्मा दिएर सरोकारवालाहरु पन्छिरहेका छन् । जुन प्रवृत्तिलाई स्वाभाविक मानिएको छैन । यसरी १० वर्षको सम्झौता गरि संरचना समेत निर्माण भएको अवस्थामा एकाएक ट्रायल सेन्टर सार्ने निर्णयको विपक्षमा स्थानीय सरकार र झापाका ड्राइभिङ स्कुल सञ्चालकहरु समेत उभिएका छन् । 

न्यूज24 नेपालबाट 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment