भारतीय डेपुटी कमाण्डरले झुक्याए, कञ्चनपुर सीमाविवाद काठमाडौंलाई कहिले दुख्छ सरकार ?

कञ्चनपुर ४ माघ । भारतीय डेपुटी कमाण्डर अमनदीप सिंहले नेपाली किसानलाई झुक्याए छन् । शनिबार कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटस्थित भारतीय एसएसबीले गरेको अवरोध सुल्झाउन त्यहाँ पुगेका भारतको पिलिभित बटालियनका डेपुटी कमाण्डर सिंहले नेपाली किसानलाई झुक्याएका हुन् ।

नेपालका तर्फबाट स्थानीय सरकार र सरोकारवालाहरुसंग भएको छलफलपछि नो मेन्सलेण्ड सम्बन्धि कुनै समस्या नरहेको बताउँदै डेपुटी कमाण्डर सिंहले किसानलाई उखु तथा अन्नबाली उठाउन भारतीय एसएसबीबाट रोकटोक नहुने बताएका थिए । यति भन्दै केही बेरमै त्यहाँबाट डेपुटी कमाण्डर सिंह निस्किए ।निस्किएको केहिबेरमै नेपाली किसानले काटेको आफ्नै बारीको उखु उठाउन दशगजा क्षेत्रमा जाँदा त्यहाँ खटिए भारतीय एसएसबीले रोकटोक गरे । एसएसबी छोटेलाल बङ्गालीले लिखित आदेश नआए सम्म भनसुनको आधारमा नो मेन्सलेण्डमा हिडडुल गर्न नदिने भन्दै जिकिर गरे । त्यहाँका किसानले १२ दिन देखि किसानले आफ्नै खेतमा काटेको उखु मिलमा लग्न समेत पाएका छैनन् । बाह्र बाह्र दिनसम्म काटेको उखु खेतमै सुक्न लागेको भन्दै किसानले दुखेसो पोखिरहेका छन् ।बेलौरी नगरपालिका – १० को सडकघाटस्थित पिलर नम्बर ३५ वरपरको भूभागमा लगाएको उखु र तोरी भारतीय एसएसबीले भित्र्याउन नदिएपछि किसानहरुको गाँसमा नै असर पर्न थालेको छ । भारतीय एसएसबीले नेपाल – भारत सीमाबीचको बाटो ‘नोमेन्सलेण्ड’लाई एकाएक प्रयोग गर्न नदिएपछि किसानको उखु खेतमै सुक्न थालेको छ ।यता, कृषकको समस्यालाई सुल्झाउन भारतीय पक्षसंग बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक एवम् नेकपाका नेता पल्लब राज भट्ट, यज्ञप्रसाद कँडेल, हरिलाल चौधरी, समाजसेवी गोपाल पन्त, हरिश पन्त लगायत स्थानीयहरुको पटकपटकको प्रयास समेत अझै सुल्झिन सकेको छैन ।शनिबार नगर प्रमुख चौधरी र डेपुुटी कमाण्डर सिंहबीचको दुई घण्टालामो छलफलपछि कमाण्डर सिंहले समस्या समाधान हुने विश्वास दिलाएका थिए । तर पनि सिंहको बोलीको कुनै भर भएन । कमाण्डर सिंहले क्यामेरामा मिडियाको अगाडि चोखिनका निमित्त त्यस्तो बोलेको हुन सक्ने अनुमान गरिएको छ । उता पुनः उनकै कमान्डमा खटिएका एसएसबीले अन्नबाली उठाउन रोकटोक लगाएपछि यतिबेला स्थानीय सशंकित र चिन्तित बनेका छन् ।

‘भारतीय एसएसबीका कारण नेपाली किसान दाजुभाइहरुले काटेको उखु खेतमै सुक्न थालेको भन्दै बेलौरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरिलाल चौधरीले आपात्ति जनाउनु भयो । यस्तै स्थानीय युवा एवम् अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका प्रतिनिधि हरिस पन्त भन्नुहुन्छ, यो सरकारलाई कञ्चनपुरको सीमा विवाद किन दुखेन १ कहिले सम्म सिमानाका जनताले भारतीय पक्षको हेपाह प्रवृत्ति सहने ।

त्यस्तै नेकपाका युवा नेता पल्लब राज भट्ट भन्नूहुन्छ ‘सिमानामा नो मेन्सलेण्डको यकिन नै नभएको बेला अहिलेसम्म नेपाल–भारत दुबै पक्षले प्रयोग गर्दै आएको बाटोलाई नो मेन्सलेण्ड हो भन्दै भारतीय पक्षले कृषि कामको लागि प्रयोग गर्न नदिने कुरा भारतीय हेपाहा प्रवृत्ति हो।’ त्यहाँ भारतको टिल्ला नम्बर ४ अर्थात ३५ नम्बर पिलर क्षेत्रबाट १८० मिटर दक्षिण भारत तर्फ नेपालको भूभाग पर्दछ । जसमा तत्कालीन स्ट्रिप नक्सा त्रुटिपूर्ण छ। यसलाइ सच्याउन सरकारले कुटनैतिक पहल गरे मात्रै कञ्चनपुरको सीमा समस्या समाधान हुने विश्वास स्थानीयवासीको छ ।

यस्तै अर्का नेता यज्ञ कडेलले ‘अहिले भनिएको नो मेन्सलेण्ड अन्तिम होइन, यो हिजोदेखि दुबै पक्षले प्रयोग गर्दै बाटो हो । भारतीय पक्षले विभिन्न बहानामा निहुँ खोजेर बेलाबेलामा बखेडा झिक्नु निन्दनीय कार्य भएको बताए । उनले लिपुलेक लिम्पियाघुरा कालापानी सुस्ता मात्र होईन कञ्चनपुरमा पनि सीमा विवाद छ भन्ने सरकारले विर्सनु हुदैन ।

यता, बेलौरीका सीमावर्ती जनता भन्छन् भारतीय पक्षले पिलर सारेर रातारात सीमा मिच्ने कुरा कुनै नौलो होइन । तर भारतीय एसएसबीले पछिल्लोपटक रोपेको उखुबाली समेत भित्र्याउन नदिदा झनै चिन्ताले पिरोलेको छ । “यस विषयमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले नेपाल –भारत दुबै देशमा सुरक्षा निकायसँग कुराकानी गरि सकेको र अब लगत्तै सहज वातावरण सृजना हुने बताउनुभयो ।

यस्तै न्यूज२४ संगको टेलिफोन कुराकानीमा कञ्चनपुर प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले त्यहाँ कुनै समस्या नरहेको र किसानको समस्या र विवाद सबै समाधान भैसकेको दावी गर्नुभयो । उहाँले उल्टै प्रश्न गर्दै भन्नुभयो ‘कस्ले भन्यो त्यहाँ विवाद छ भनेर ? “ तर प्रमुख जिल्ला अधिकारीको यस्तोे जवाफले सीमानाकाका जनताको घाउमा नुन छर्किने कार्य भएको भन्दै बेलौरी १० का स्थानीय बुद्धिजीवी विवेक लम्सालले आक्रोस व्यक्त गरे ।

उनले कञ्चनपुरका सिडिओ सापलाई स्थलगत रुपमा आएर समस्या बुझेरमात्रै मिडियामा कुरा गर्न सुझाव दिएका छन् । यद्यपि देशका २३ जिल्लाको ७१ स्थानमा सीमा विवाद कायमै छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment