अदालतको फैसला सामान्य हो, यसले मलाई कुनै असर गर्दैन : प्रधानमन्त्री ओली


काठमाडौं, १२ फागुन । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला सामान्य भएको र यसले आफूलाई कुनै असर नगर्ने बताउनुभएको छ । बुधबार (आज) ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाले आफूलाई कुनै असर नगर्ने बताउनुभएको हो ।

त्यस्तै, उहाँले आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने पनि बताउनुभयो । मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको खुसीयालीमा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले लड्डु ख्वाइ ख्वाइ गरेका थिए ।

सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मेरा भाईहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन् । के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछ हेर्नु छ ।’

त्यस्तै, उहाँले जिन्दगीको कुनै ठेगान नभएको र जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो, भन्दै भन्नुभयो, ‘भोलि–पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि भन्ने लागिरहेको छ । राजीनामा देउ, राजीनामा देउ । त्यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हर्टअट्याक भएर मर्न सक्छ । ब्रेन ह्यामरेज भएर मर्न सक्छ । गाडी ठोक्किएर मर्न सक्छ ।’

यसैक्रममा तत्काल राजीनामा नदिने संकेत गर्दै उहाँले अहिलेकै सरकार रहने र विकासको कुरा अगाडि बढिरहेको पनि बताउनुभयो । विकासको मार्गमा निश्चिन्त रुपमा अगाडि बढ्न पनि उहाँले सुझाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment