युवतीको आक्रमणमा परेका नेपाली चालक विश्वभर भाइरल, सहयोगमा उठ्यो ५० हजार डलर


काठमाडौँ, २७ फागुन । अमेरिकामा एक नेपाली चालकमाथि युवतीहरुद्वारा दुव्र्यवहार भएको भिडियो यतिबेला विश्वर भाइरल भइरहेको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा उबर (एक प्रकारको ट्याक्सी जस्तै सवारी साधन) चालक रहेका शुभाकर खड्कामाथि तीनजना युवतीहरुले दुर्व्यवहार गरेका हुन् ।

घटना गत आइतबारको हो । नेपाली युवक ३२ वर्षीय खड्का उबर चालक हुन् । उनको सवारी साधनमा तीन जना महिला यात्रु चढेका थिए तर ती यात्रुलाई चालक खड्काले मास्क लगाउन अनुरोध गर्दा उनीमाथि उल्टै आक्रमण भएको छ ।

खड्कामाथि भएको त्यो आक्रमण र दुर्व्यवहारको भिडियो र सो बारेको समाचार अहिले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा छाएको छ । चालक शुभाकरले नियमअनुसार मास्क लगाउन अनुरोध गर्दा युवतीहरुले अटेर गरेका थिए । मास्क नलगाएमा आफूले सेवा नदिने बताएपछि ती एक जण्ड युवतीले उनीमाथि आक्रमण गरेकी हुन् ।

तीनजना महिला यात्रुमध्ये दुईजनाले मास्क लगाए पनि एक युवतीले भने मास्क लगाउन इन्कार गरिरहेको भिडियो देख्न सकिन्छ । भिडियो अनुसार तर शुभाकरले नियम अनुसार मास्क लगाउनैपर्ने आग्रह ती युवती उल्टै शुभाकर माथि झम्टिन्छिन् । शुभाकरमाथि हातपात गरेर उनले लगाएको मास्क समेत खुस्काउने गरी चिथाेर्छिन् । अझ चालक खड्काेको मोबाइल समेत खोसेर लिने प्रयास गर्छिन् । तर खड्काले युवतीबाट आफ्नो मोबाइल फिर्ता लिन भने सफल हुन्छन् ।

त्यतिमै मात्र उनको आक्रमण रोकिँदैन, ट्याक्सीबाट ओर्लेर हिँड्न लाग्दा फेरि बाहिरैबाट चालक खड्कामाथि आँखा पोल्ने पिरो स्प्रे (धुलाे) ले आक्रमण गरेको बताइएको छ । उबरको अगाडि राखिएको सिसी क्यामेरामा यो सबै दृश्य रेकर्ड भएको छ ।

प्रहरीमार्फत छानबिन सुरू

चालक खड्काले आफूमाथि दुर्व्यवहार भएको भन्दै फ्रान्सिस्को प्रहरीमा छानबिनका लागि उजुरी दिएका थिए । प्रहरीले ती आक्रमणकारी युवतीको पहिचानका लागि छानबिन सुरु गरिसकेको बताइएको छ ।

खड्काले आफूलाई रंगभेदी आशयले आक्रमण गरिएको भन्दै दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गरेका छन् । ट्याक्सीका ती यात्रुहरुको पहिचानका लागि प्रहरीले अनुसन्धान र खोज सुरु गरिसकेको सन फ्रान्सिस्काे प्रहरीका प्रवक्ताले जनाएका छन् ।

आप्रवासी नागरिकले अमेरिकामा रंगभेदी दुर्व्यवहार खेप्नुपरेको भन्दै अहिले खड्काको सहयोगमा रकम संकलन अभियान नै चलाइएको छ । चालक खड्कालाई सहानुभुति दिने र उनका लागि सुरु गरिएको आर्थिक सहयोग संकलन अभियानमा सहयोग रकम दिनेहरु बढिरहेका छन् ।

सहयोगमा उठ्यो ५० हजार डलर

अमेरिकी भूमिमा दुर्व्यवहारको सिकार भएका नेपाली चालक खड्काको सहयोगार्थ क्राउड फन्डिङमार्फत ५० हजार डलरभन्दा बढी रकम संकलन भइसकेको छ । गोफन्डमी डट ओआरजीमा यो समाचार तयार पार्दासम्म (बिहीबार बिहान) ५० हजार ३५१ डलर सहयोग रकम संकलन भैसकेको छ ।

सियान बनिस्टर नामक एक प्रयोगकर्ताले गाे फन्ड मी  मा खड्काको तर्फबाट उक्त सहयोग रकम संकलन अभियान चलाएका हुन् । सो अभियानमार्फत २० हजार डलर संकलनको लक्ष्य राखिएकोमा लक्ष्यभन्दा दोब्बर बढी सहयोग संकलन भइसकेको छ ।

सहयोग अभियन्ताले  दुर्व्यवहारमा परेका खड्का अहिले मानसिक तनाव र डरमा रहेकाले उनी काममा फर्किन नसक्ने भएकाका कारण सहयोग गर्न आग्रह गरेका छन् ।

ललितपुर घर भएका चालक खड्का सन् २०१२ मा अमेरिका पुगेका थिए । उनी त्यहाँ उबर चालकको रुपमा काम गर्दै जीवन निर्वाह गरिरहेको बताइएको छ ।

(एजेन्सीहरूकाे सहयाेगमा)

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment