प्रधानमन्त्रीकी ‘छोरी’ ठिल्लेले अभाव र तनावका कारण विद्यालय नै छाडिन् !


  • दानबहादुर बुढा,

मुगु, १ चैत । प्रधानमन्त्रीदेखि मन्त्रीहरु एवं सांसदका साथै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरीब र असहाय परिवारका बालबच्चाको अभिभावकत्व ग्रहण गर्ने एक समय फेशन नै चल्यो । तर ती अभिभावकत्व ग्रहण गरिएका बालबालिकाहरुको अवस्था अहिले कस्तो छ ?

त्यो अभिभावकत्व ग्रहण गर्ने अभिभावकहरुलाई नै थाहा नहोला । किनभने प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाउनुभएकाे मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् ।

३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत्ताकपडा पठाए । तर खर्चको अभावमा र विद्यालय जाँदा एवं गाउँघर पुग्दा सबैले ‘प्रधानमन्त्रीकी छोरी’ भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले विद्यालय जानै छाडेकी हुन् ।

अभाव र तनावका कारण निकै तिक्ष्ण क्षमता भएकी ठिल्लेको विद्यालय यात्रा टुृंगिने चिन्ता समेत बढेको छ । यस्ले अभिभावकत्व ग्रहण गरिएका बाँकी बालबालिकाको अवस्था के होला सहजै बुझ्न सकिने अवस्था पनि देखिएको छ ।

रारा किनारमा उभिएर गरिएको त्यो अभिभावकत्व

मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेकी प्रधामन्त्री केपी शर्मा ओलीले अभिभावकत्व घोषणा गरेकी छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथी भाईबाट हेपिन पुगेकी छन् ।

कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगी लामालाई अभिभावकत्व ग्रहण गरेका थिए । तर अहिले २ वर्ष बितिसक्दा पनि पढाई खर्च लगायत गाँस, बास, कपास प्रतिबद्धता व्यक्त गरे अनुरुप सहयोग नगर्दा पछिल्लो समय लामालाई अध्ययनमा समेत समस्या भएको छ भने विद्यालय जाँदा प्रधामन्त्रीकी छोरी भनेर साथीभाईले जिस्क्याउने गरेका छन् ।

विद्यालय नै जान छाडिन् 

लामा अहिले बुद्ध माद्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । उनको दिमाग तिक्ष्ण भएता पनि पठनपाठनमा आवश्यकता पर्ने स्टेशनरीका सामान कापी, कलम, डे«स, नुहँदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ ।

यता वुद्ध माद्यमिक विद्यालय माग्री गाउँका प्रधानाध्यापक टिकाप्रसाद उपाध्यायले लामाका अभिभावकसँग बुझ्दा दुई पटक मात्र सहयोग गरेको तर बाँकी सहयोग कुनै निकायबाट समेत नभएको बुझिएको बताए ।

३ वर्षमा जम्मा २० हजार र केही लत्ताकपडा

घरमा बन्दोबस्त गर्ने घरपरिवार नहुनु र लामाको बुवाको पनि निधन भएको हुदा यसै समस्या लाई मनन गर्दे प्रधानमन्त्री ओलिले अभिावकत्व ग्रहण गरेका हुन । अहिले घरमा विहान बेलुका के खाऔँ, के खाऔ, के लाऔँ र के राखौं भन्ने चिन्ताले मात्र सताउने गरेको परिवारको गुनासो गरेका छन् ।

प्रधानमन्त्रीले अभिावकत्व गरेको करिब ३ वर्ष पुग्दा समेत हाल सम्म २ पटक मात्र १०÷१० हजार नगद र एक पटक लत्ता कपडा मात्र सहयोग गरेको आमा छिचु लामाले बताइन् ।

सोधपुछ समेत नगरेकोमा परिवारजन दु:खी

प्रधानमन्त्रीले आफ्नी नातिनीलाई छोरीसरह मानेर सम्पूर्ण जिम्मेवारी लिएको तर पठनपाठन लगायत अन्य स्रोतमा सहयोग नभएको ठिल्लेका हजुरबुबा छिरिङ क्यामा लामाको गुनासो छ ।

विद्यालयदेखि गाउँघरसम्म सबैले प्रधानमन्त्रीकी छोरी भने जिस्क्याउने गर्दा आफ्नी नातिनी अभावबीच थप तनाव परेर विद्यालय जान छोडेको पनि लामाको गुनासो छ ।

प्रधानमन्त्री पत्नी शाक्यकी छोरी छिरिङको अवस्था पनि उस्तै

सोही रारा पर्यटन वर्षमा प्रधाामन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि एउटी अर्की छोरी छिरिङ छेन्जोङ्ग लामालाई ग्रहण गरिन् । उनको अवस्थामा पनि अहिले उस्तै रहेको छ ।

यस्तै पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अभिभावकत्व गरेकी छोरी र अन्य मन्त्री सांसदहरुले गरेको अभिभावकत्व पनि वारि र पारिको बीचमा पुल नै नरहेजस्तै भएको छ ।

(यो समाचारको विस्तृत रिपोर्ट न्यूज २४ को सिधाकुरा जनतासँगमा हेर्न सक्नु हुनेछ)

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment