राजदुवाली भासिँदा पूर्वी पहाड बन्धक: वैकल्पिक सडकमा पुल छैनन्, ठेक्का लागेका सडक हिलाम्मे धराप


इलाम ।
पूर्वी पहाड (इलाम, पाँचथर र ताप्लेजुङ) को प्रमुख लाइफलाइन मानिने मेची राजमार्गको राजदुवाली खण्ड असार २५ गते पुनः भासिएपछि तीन जिल्लाको जनजीवन प्रभावित बनेको छ। राजमार्ग अवरुद्ध भएपछि प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे पनि ती सडकहरूको वास्तविक अवस्था हेर्दा यात्रु र सवारी चालकलाई झन् ठूलो जोखिममा धकेलिएको देखिन्छ।

स्थलगत अवलोकनले देखाउँछ—सरकारले वैकल्पिक भनेका सडकहरूमा पुल छैनन्, निर्माणाधीन सडक हिलाम्मे छन् र सामान्य वर्षामै सवारी आवागमन ठप्प हुने अवस्था छ।

जोगमाई खोलामा पुल छैन, हिलोमा भासिन्छन् सवारी

माइजोगमाई गाउँपालिकाको नामसालिङ र इलाम नगरपालिका–गोदक जोड्ने सिमलगोलाई–तिल्केनी सडकलाई वैकल्पिक मार्ग भनिए पनि जोगमाई खोलामा स्थायी पुल नहुँदा वर्षायाममा आवतजावत लगभग असम्भव बनेको छ।

हिउँदमा राखिने ह्युमपाइप वर्षाको भेलले बगाएपछि अहिले सवारी साधन खोलामै रोकिएका छन्। बेलीब्रिज निर्माणको योजना पटक–पटक उठे पनि कार्यान्वयन हुन सकेको छैन।

त्यसैगरी सडकभरि हिलो जम्दा एम्बुलेन्स, यात्रुवाहक बस तथा खाद्यान्न बोकेका ट्रकहरू घण्टौँसम्म फस्ने गरेका छन्। कतिपय स्थानमा यात्रु आफैँ गाडी धकेल्न बाध्य हुने अवस्था छ।

केचना–कञ्चनजङ्घा द्रुतमार्ग पनि उपयोगहीन

मेची राजमार्गको अर्को विकल्प मानिएको केचना–कञ्चनजङ्घा द्रुतमार्गको अवस्था पनि उस्तै दयनीय छ।

पुवाखोलामा स्थायी पुल नहुँदा बर्खायाममा सवारी सञ्चालन पूर्ण रूपमा प्रभावित भएको छ। स्थानीयले श्रमदान गरेर बनाएको अस्थायी काठे पुल र डाइभर्सन बाढीले बगाएपछि यो मार्ग पनि बन्दजस्तै बनेको छ।

सडक स्तरोन्नतिका लागि ठेक्का लागिसकेको भए पनि अधिकांश स्थानमा कालोपत्रे गरिएको छैन। वर्षामा सडक हिलो र हिउँदमा धुलोले भरिने गरेको स्थानीयको गुनासो छ।

स्थानीय सरकार र केन्द्रप्रति जनआक्रोश

स्थानीयवासीले आपत्कालीन अवस्थामा समेत स्थानीय सरकार प्रभावकारी रूपमा परिचालन नभएको आरोप लगाएका छन्। सम्बन्धित निकायले सडक मर्मत, डाइभर्सन व्यवस्थापन र अस्थायी संरचना निर्माणमा आवश्यक सक्रियता नदेखाएको उनीहरूको भनाइ छ।

यस्तै, सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन समाधानमा आवश्यक गति दिन नसकेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

अर्थतन्त्र र स्वास्थ्य सेवा प्रभावित

सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङबाट उत्पादन हुने चिया, अलैँची, दूध तथा तरकारी बजारसम्म पुर्‍याउन समस्या भएको छ। बिरामी बोकेका एम्बुलेन्स सञ्चालनमा कठिनाइ हुँदा आकस्मिक स्वास्थ्य सेवासमेत प्रभावित बनेको छ।

स्थानीयको माग

स्थानीयवासीले राजदुवाली खण्डको स्थायी समाधान, जोगमाई र पुवाखोलामा तत्काल बेलीब्रिज वा स्थायी पुल निर्माण, वैकल्पिक सडकको स्तरोन्नति तथा ठेक्का लागेका सडकको निर्माण कार्य शीघ्र सम्पन्न गर्न सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार पूर्वी पहाडका नागरिकलाई सुरक्षित र भरपर्दो सडक सञ्जाल उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व हो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment