१३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिंहदेवी मावि एकतप्पालाई

 

  • गोविन्द लामिछाने


फाकफोकथुम ११ चैत । इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा मङ्गलवार सम्पन्न १३ आंै राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि छनौट प्रतियोगिताको उपाधि सिंहदेवी मावि एकतप्पाले हात पारेको छ । विभिन्न विधामा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै सिंहदेवीले उपाधि हात पारेको हो । 

त्यस्तै राष्ट्रिय मावि कोल्बोटेले दोश्रो र जनकल्याण माविले तेस्रो स्थान हासिल गरेका हुन् । सिंहदेवी माध्यमिक विद्यालय आमचोकको खेलमैदानमा गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयका छात्रछात्राले सहभागिता जनाएका थिए । 

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय तथा सहभागी विद्यालयलाई गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रामकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभयो । 

पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले खेलकूद क्षेत्रको विकास र विद्यार्थीको खेलप्रतिको लगावका लागि गाउँपालिकाले जस्तोसुकै सहयोग गर्ने बताउनुभयो । शिक्षाका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद र स्वास्थ्यका लागि खेलकूद भन्ने मूल नारालाई सार्थक बनाउन आफूले सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । छोटो अवधिमा पनि उत्साहपूर्वक प्रतियोगिता सम्पन्न भएकोमा आफू हर्षित रहेको बताउँदै उहाँले आगामी वर्षदेखि प्रतियोगितालाई थप व्यवस्थित बनाउँछौं, भन्नुभयो । गाउँपालिकाको तर्फबाट विद्यालयलाई खेलकूदका सामग्री वितरण गरिने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो । आगामी वर्षदेखि प्रतियोगितामा मार्सल आर्टसलाई समेत समावेश गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

प्रतियोगितामा एथलेक्टिक्स ट्रयाकतर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर र फिल्ड इभेन्टस तर्फ सटपुट, लङजम्प, हाइजम्प, त्रिपजम्प भएका छन् । त्यस्तैगरी भलिबल, कबडी जस्ता खेल भएका छन् । गाउँपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितालाई गाउँपालिकाबाट तीन लाख र सशर्त अनुदान एक लाख सहयोग रहेको शिक्षा शाखा प्रमुख मतापसिंह लिम्वूले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment