इलामको फाकफोकथुम गाउँपालिका केन्द्र जोड्ने सडक निर्माणमा विवाद चुलिँदै


इलाम, ११ चैत्र । इलामको पश्चिमी गाउँपालिका फाकफोकथुम गाउँपालिकाको–५ लुम्देबाट गाउँपालिकाको केन्द्र जोड्ने सडकको उपभोक्ता समिति निर्माणमा उपभोक्ताहरुलाई नसमेटी समिति निर्मण गरेको भन्दै सडक निर्माणकार्य अवरोध गरेका छन् ।

प्रदेश सरकारको ६० लाख बजेटमा निर्माण हुन लागेको फुङ्गखोला–भञ्ज्याङ–यथेवा–थावाखोला–फुएतप्पा हुँदै आमचोकमा रहेको गाउँपालिकाको केन्द्रसँग वडा नं. ५ जोड्ने सडक निर्माणमा विवाद भएको हो ।

६० लाखमध्ये २० लाखको फावाखोलादेखि भञ्ज्याङ्गसम्मको काम गर्नका लागि गठन गरिएको उपभोक्ता समितिमा सडक निर्माणमा प्रभावित उपभोक्ताहरुलाई वडाले नसमेटेकोले सडक निर्माण अवरोध गरिएको स्थानीय देउमान दर्लामी मगरले बताए ।

यता वडा अध्यक्ष भने आफूहरुले निर्माण गरेको समिति विधानत गठन गरेको र मुख्य जग्गा दाताहरुलाई समेटिसकेको बताउँछन् ।

उनी भन्छन्, ‘राजनीतिक खिचातानीले गर्दा केही स्थानीयहरुले विवाद निकाले र सो विवादलाई गाउँपालिकाका अध्यक्ष राम कुमार श्रेष्ठको कारण विवाद झन बढेको हो । जहाँ पनि राम्रो काम गर्नेलाई खुट्टा तान्ने गर्छन् त्यस्तै यहाँ पनि भएको छ ।’

गाउँपालिका अध्यक्षले सोमबार बोलाएका छलफलमा भने विवादित दुवै पक्ष उपस्थित भएका थिए । छलफलको क्रममा विवाद नमिलेपछि वडा अध्यक्षलगायत उपभोक्ता समितिका अध्यक्ष तथा सदस्यहरु छलफल छोडेर बाहिरिएका थिए ।

छलफलमा गाउँपालिका अध्यक्षलगायत विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार पहिलेनै विवाद भएपछि विवाद मिलाएर समिति बनाउन वडा अध्यक्षलाई पटक–पटक भन्दा पनि नमानेपछि स्थानीहरुसँग छलफल कार्यक्रम राखिएको हो ।

तर, उक्त छलफल पनि निष्कर्षविहीन टुंगिएपछि समितिले काम स्थगन गरेको र सो समिति विघटन गरि अर्को नयाँ समिति गठन गरी काम अगाडि बढाइने बताइएको छ । उनले भने, ‘९० प्रतिशत उपभोक्ताहरुलाई थाहै नदिई सडक बनाएको उपोभोक्ता समिति वैधानिक नभएकाले विघटन गरिएको हो ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment