बसाई–सराई नरोकिँदा खण्डहर बन्दै इलामको फाकफोकथुमको लुम्दे गाउँ

  • विनय तिम्सीना,

इलाम, ११ चैत्र । इलाम प्रकृतिक रुपमा भरिभराउ र सुविधा सम्पन्न जिल्लाको रुपमा चिनिन्छ । इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्दे पनि प्रकृतिकरुपमा उत्तिकै भरिभराउ र मनोरम रहेको छ ।


नजिकै रहेको धुँवा डाँडाको काखमा रहेको लुम्दे गाँउ हेर्नको लागि मात्र हैन बस्न पनि उत्तिकै राम्रो रहेको छ । तर, यो गाउँमा बस्ने मानिसहरु अहिले लगातार बसाई सरेर अन्यत्र जान थालेका छन् ।

गाउँमा बसोबास गर्ने बासिन्दा यसरी थाकथलो छोडेर हिड्न थालेको धेरै भएको छैन । द्वन्दकालमा समेत गाउँ छोडेर नहिडेका यहाँका बासिन्दाहरु अहिले देशमा संघीयता आएर सिंहदरबारको अधिकार गाउँमा पुगेको नारा आएसँगै गाउँ छोडेका हुन् ।

लगभग ५ सय घर परिवार रहेकको यो गाउँका ४० प्रतिसत भन्दा धेरै बासिन्दाले गाउँ छोडिसेका छन् । गाउँमा नजिकै आधारभूत तथा माध्यमिक विद्यालयहरु रहेका छन् । नजिकैको बजारमा निजी विद्यालयहरु पनि रहेका छन् ।

त्यति मात्रै नभएर अहिले गाउँमा सडक सुविधा पनि रहेको छ । विद्युतको पनि राम्रो सुविधा रहेको यो गाउँका मानिसहरु एकाएक यसरी गाउँ किन छोडिरहेका छन् ?

हुन त अहिले मानिसहरु सुविधा सम्पन्न ठाउँमा स्थान्तरण हुने क्रम जारी रहेको छ तर गाउँनै खण्डहर हुने गरी लुम्देगाउँका बासिन्दाहरु आफ्नो थाकथलो छोड्नु अचम्म लाग्दो छ ।

खेती किसानी गर्दै आएका लुम्देका स्थायीबासिन्दा याम प्रसाद अधिकारी भन्छन् निर्बाहामुखी कृषीले जीवन मात्र चल्यो अरु केही गर्न सकिएन । यहाँ उत्पादन नभएका कृषी उपजहरुले बजार नपाउँदा पनि मानिसहरु गाउँ छोड्न बाध्य भएका हुन् ।

उनी भन्छन् यति मात्र हैन मानिसको सबै भन्दा ठूलो कुरा स्वास्थ्य रहेछ विमारी पर्दा उपचार नपाउनु र उपचार गर्न लैजादा लैजादै बाटोमै मृत्युवरण गर्नु जस्ता समस्याले पनि यहाँका वसिन्दाहरु गाउँ छोडिरहेका छन् ।

स्वास्थ्य उपचारको लागि राम्रो अस्पताल नजिक नहुनु लुम्दे वासीको लागि अभिशाप भएको छ । लुम्देका बासिन्दाहरु राम्रो उपचारको लागि कित ५÷६ घण्टाको यात्रा गरेर इलाम सदरमुकाम आउनु पर्छ कि त त्यतिनै यात्रा गरेर झापाको दमक जानु पर्छ । यस्तो समस्याले गर्दा पनि यहाँका बासिन्दाहरु थाकथलो छोड्न बाध्य भएका छन् ।

एकै घर कुरेर बसेकी गोमा अधिकारीको पनि दुःख उस्तै छ । उनी भन्छिन्, ‘बुढेसकाल लाग्यो । अब काम गर्न सकिन्न । गाउँमा बसेर के गर्ने, छोरा छोरी सबै शहर पसे । कोही पढ्न गए त कोही काम गर्न ।’

अब उनी पनि गाउँ छोडेर जाने तरखरमा रहेकी छन् । लुम्देमा खानेपानीको पनि राम्रै सुविधा देखिन्छ । विद्युत पनि विस्तार भइसकेको र कच्चीनै भए पनि सडक यातायत भएको यो गाउँमा विशेषत स्वास्थ्यकै कारण मानिसहरु बसाई सरेर गएका छन् ।

यता गाउँपालिकाका अध्यक्ष राम कुमार श्रेष्ठ भने बसाई सराई रोक्नको लागि योजना बनाएर लाग्ने बताउँछन् । यसरी समयमै यो गाउँको समस्यामा ध्यान नदिने हो भने एक दिन यो गाउँ खण्डहर मात्र हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment