मजदूर बोकेको ट्र्याक्टर दुर्घटना, मृत्यु भएका चार जनाको सनाखत, एक युवककाे पहिचान भएन

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका– ११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् । एक जना अन्दाजी २५ वर्षीय युवकको नाम थर ठेगाना खुल्न सकेको छैन ।

थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको थियो । ट्र्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा सवार १९ जना घाइते भएका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य रहेको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना आइतबार साँझ ७ः३० बजे भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता