उकालो लाग्यो कोरोनाको ग्राफ, छैन मापदण्ड पालना


काठमाडौं । यही चैत २८ मा देशभर कुल ३ हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ संक्रमण देखियो । अघिल्लो महीनाको सोही दिन (फागुन २८) मा २ हजार ५०० को परीक्षण गराउँदा ४८ जना मात्रै संक्रमित भेटिएका थिए । १ महीनाको फरकमा संक्रमणको ‘ग्राफ’ निकै माथि पुगेको उक्त दुई तथ्याङ्कले प्रस्ट्याउँछ । त्यसमाथि अहिले देखिएकामध्ये धेरैमा नयाँ स्वरूपको भाइरस छ ।

यसपालि गतवर्षजस्तो कोरोनाको त्रास कसैमा देखिएको छैन । शंकास्पद परीक्षणमा जान अनकनाउँछन् भने मास्क लगाउने, साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत मापदण्ड पालनामा खास जाँगर चलेको देखिँदैन । सडकमा राखिएका कतिपय हातधुने भाँडा प्रयोगविहीन देखिन्छन् ।

काठमाडौंको सुन्धारा, रत्नपार्कलगायत क्षेत्रमा आज मास्क नलगाएका व्यक्ति धेरै भेटिए । ‘कोरोनाले अब खास केही समस्या हुने देखिएन, त्यसैले मास्क लगाइएन,’ नाम नबताउने एक जनाले भने ।

यो क्रम देशभरि नै छ । ठूलाठूला भीडभाड क्षेत्र, जात्रा, मेला, महोत्सव, राजनीतिक कार्यक्रम अहिले यत्रतत्र भइरहेका देखिन्छन् । तर, मन्दगतिमा संक्रमण दर बढिरहेको ग्राफले भने आमसमुदायको ध्यान तान्न सकेको छैन । संक्रमणको ग्राफ बढिरहेको बताउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम भन्छन्, ‘अघिल्लो महीनामा बढीमा दैनिक १ सय बिरामी हुन्थे, अहिले झन्डै दोब्बर थपिएर दैनिक ३ सयभन्दा माथि देखिनु जोखिमतर्पm उन्मुख हुनु हो ।’ उनले अघिल्लो महीनामा सक्रिय संक्रमित ९०० को हाराहारीमा रहेकोमा आज २ हजार ७०० पुगेको जानकारी दिए ।

मन्त्रालयका अनुसार १ महीना अघिदेखि नै संक्रमण बढ्न थालेको भए पनि पछिल्लो १०/१२ दिनदेखि संक्रमणको गति अलि तीव्र छ । ‘अब राम्ररी स्वास्थ्य मापदण्ड नअपनाउने हो भने सबै सेवा ठप्प पार्नुको विकल्प हुँदैन,’ डा गौतमले दाबीका साथ रासससँग भने ।

अघिल्लो वर्ष यही समयमा भारतमा अत्यधिक संक्रमण भएको बेला नेपालमा न्यून थियो । जब भारतबाट नेपाली स्वदेश फर्किए त्यसपछि एक्कासि संक्रमण दरको गति बढेको थियो । गतवर्ष चैतको अन्तिमबाट क्रमशः बढ्न थालेको संक्रमणको गतिले वैशाख सकिँदा त्रास फैलाइसकेको थियो ।

यसपटक पनि विगतको पुनरावृत्ति हुने आशङ्का जनस्वास्थ्यविद्को छ । अहिले भारतमा दिन प्रतिदिन कोरोनाको संक्रमण दर ह्वात्तै बढिरहेको छ । प्राप्त विवरणमा भारतमा पछिल्लो तथ्याङ्क हेर्दा एकै दिन १ लाख ५२ हजार संक्रमित भेटिएका छन् । भारत–नेपाल खुला सिमानाका कारण त्यहाँबाट मानिस सजिलै नेपाल आउन सक्ने हुँदा विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । उनीहरूमा नयाँ भेरियन्टसहितको संक्रमण देखिएकाले अभैm चनाखो हुनुपर्ने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारी अहिले अवस्था सामान्य हुँदा पनि शङ्कास्पद व्यक्ति परीक्षणका लागि अस्पताल जान जागर देखाउन छाडेको जिकीर गर्नुहुन्छ । ‘शङ्कास्पद परीक्षणमा जानै पर्छ, क्वारेन्टाइन बस्नैपर्छ, नभए अवस्था जटिल हुनसक्छ,’ अधिकारीले भने, ‘अहिले ठूला शहर, नाका क्षेत्र, भारतबाट आउनेमा बढी संक्रमण देखिएको छ,’ डा अधिकारीले भने । प्राप्त विवरणअनुसार शनिवारसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । ३ हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

कोरोना बढ्न थालेपछि सरकारले विशेष सावधानी अपनाउन अपिल गरिसकेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को हालैको बैठकले कोभिड संक्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको छ । केन्द्रले जिल्लाका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने, लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने गरी काम अघि बढाउने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment