गगनको आक्रोश- ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिकाे ‘अधर्मी’ जोडी यतिमै रोकिने छैनन्’


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङका कारण संविधान र संसदमाथि प्रहार भएको बताएका छन् । दुवैकाे मिसन नै संसद र संविधानको हुर्मत लिनु रहेकाे उनकाे टिप्पणी छ । साथै उनले प्रधानमन्त्री र राष्ट्रपतिलाई ‘देशघाती’ र ‘अधर्मी’ जोडीको संज्ञा दिँदै यतिमै उनीहरु नरोकिने र थप तिकडमहरू गर्न सक्ने बताएका छन् ।

मध्यरातमा संसद विघटन गरिएपछि त्यसको प्रतिक्रिया स्वरुप उनले ट्विटरमार्फत आफ्नो धारणा राखेका छन् । नेता थापाले भनेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा ७६(५) को आह्वान, अनुकुल नभएपछि फेरि विघटन ! कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए !’

थापाले ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपति’का कारण मुलुक अँध्यारो सुरुङमा गएकाे पनि बताएका छन् । ‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यही र यत्तिमै रोकिने वाला छैनन्,’ उनले भनेका छन्, ‘नेतागण ! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment