महामारीको कहरमा राजनीतिक ताण्डव : संसद विघटनप्रति चौतर्फी आक्रोश


काठमाडौँ । प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा रातारात प्रतिनिधिसभा विघटन गरेर महामारीको मार खेपिरहेको मुलुकमा चुनाव गराउने घोषणाले सबैतिर आलोचनाको ग्राफ बढाइदिएको छ । प्रमुख दलका नेताहरु, राजनीतिज्ञ, तथा संविधानविदहरुले त राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदमको विरोध एवं चर्को आलोचना गरिरहेकै छन्, परन्तु आम सर्वसाधारणदेखि लेखक-विश्लेषक, डाक्टर, बुद्धिजीवी लगायतबाट चासो र चिन्ता व्यक्त भइरहेका छन् ।

सामाजिक सञ्जालमार्फत उनीहरुले आफ्ना धारण, टिप्पणी तथा छेडछाड सार्वजनिक गरिरहेका छन् । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादीका नेता डा बाबुराम भट्टराइले राष्ट्रपतिद्वारा घाेषित निर्वाचनप्रति शंका व्यक्त गर्दै भनेका छन्- ‘यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो। एकजुट होऊँ; प्रतिवाद गरौं !’

कांग्रेसका नेता गगन थापाले निरन्तर टिप्पणी गरिरहेका छन् । उनले पछिल्लाे ट्विटमा भनेका छन्, ‘१४९ सांसदको ७६(५)बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्बोच्चकै फैसलाको अपमान हुन्छ । अत:राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ ।’

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले विश्वासकाे मत समेत नलिएका प्रधानमन्त्रीले संसद विघटनकाे सिफारिस गर्न नमिल्ने बताएका छन् । उनले भनेका छन्- ‘देशमा महामारी छ। मान्छे मरिरहेका छन्। नागरिकहरू स्वयं औषधी, अक्सिजन, खानाको जोहो गरेर निसाहयलाई सहयोग गरिरहेका छन्। विदेशीहरु विमान चार्टर गरेर सहयोग लेराइरहेका छन्। सरकारचाहिँ यस्तो अवस्थामा अर्बौँ रूपैयाँ निर्वाचनमा खर्च गर्ने तयारी गर्दैछ ?‌’

विवेकशील साझाका पूर्व प्रवक्ता एवं पूर्वाधारविद् सूर्यराज आचार्यले भनेका छन्, ‘कोरोना कहरको पीडामा छटपटाउँदै गरेको जनता भ्याक्सिन, अक्सिजन र अस्पतालको बेड माग्दै थियो, विकृत राजनीतिले चुनाव दियो। प्रम र राष्ट्रपतिको खेदजनक बलमिचाइँ। लोकतन्त्रको मर्यादा हरायो, सत्तायन्त्रको तिकडम हाबी। संसदीय प्रणाली र राजनीतिका पात्र/प्रवृत्ति बिच ठुलो अनमेल। विकल्प के ?’

लेखक/विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री ओलीलाई कुनै पनि संस्थागत संरचनाका नियम, विधि र मर्यादाप्रति सरोकार र रुचि नभएको बताएका छन् । उनी लेख्छ्न, ‘कथित निर्वाचन गर्ने कुरा त उनले बेसार पानी र बेलौतीको पातसमेत नखाइकन चट पार्नेछन्। होस गरौं ।’

मुटुराेग विशेषज्ञ डा रामेश काेइरालाले नेताहरूकाे कुर्सीमाेहप्रति व्यंग्य गर्दै लेखेका छन्- ‘राजनेताले स्वास्थ्य संकटकाल त के मिलेसम्म कालसर्पयोगको डर देखाएर भए पनि कुर्सी छाड्दैनन् हउ। नचिनेका इष्ट हुन् र तिनी ?’

news24-ad

यसैगरी जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित जनतालाइ कोरोना भाइरसविरुद्धको खोप नलगाइकन चुनावमा जान नहुने भन्दै यसाे लेख्छन्- ‘म राजनीति बुझ्दिन, तर विकसित घटनाक्रममा मेरो एकल माग: अधिकांश जोखिम समुह लगायतलाइ बिना खोप चुनावमा जान पाइन्न !’

कवि अर्जुन पराजुली कवितामा नै समसामयिक राजनीतिक टिप्पणी गरिरहन्छन् । उनले पछिल्लाे घटनाप्रति टिप्पणी गर्दै जति पनि नराम्रा कुकृत्य रातिमै हुने गरेकाे र पछिल्लाे राजनीतिक खेल पनि रातमै भएकाे बताएका छन् ।

लेखक एवं विश्लेषक किशाेर नेपालले के प्रतिपक्षी राजनीतिक दलहरूले महामारीकाे चुनाव बहिष्कार गर्न सक्दैनन् भन्दै प्रश्न गरेका छन् ।

उनी लेख्छ्न-  ‘महामारीमा मध्यावधि ! मृत्युका मलामीहरू भन्छन्- लाेकतन्त्रलाई लयमा ल्याउन चुनाव । अमेरिकामा, काेरियामा र भारतमा पनि महामारीमा नै चुनाव भाे । जनताले भ्याक्सिन पाएका छैनन, अक्सिजनकाे पत्ताे छैन । चुनाव ! के प्रतिपक्षी राजनीतिक दलहरूले महामारीकाे चुनाव बहिष्कार गर्न सक्दैनन ?’

यी त भए केही केही प्रतिनिधि टिप्पणीहरु, सामाजिक सञ्जालमा सामान्य प्रयाेगकर्ता समेत अहिले राजनीतिक घटनाक्रमबारे टिका-टिप्पणी गरिरहेका छन् । महामारीका बेला जनता अक्सिजन र उपचार नपाएर मर्नुपरिरहेकाे तर सत्तासीनहरू कुर्सी जाेगाउन र सत्ताका लागि राजनीतिक ताण्डव खेल्न, अप्रिय निर्णयहरू गर्न निर्लज्ज भएर लागिपरेकाे अधिकांशका टिप्पणीहरूकाे आशय छ ।

शुक्रबार मध्यरातपछि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीकाे सिफारिसमा प्रतिनिधिसभा विघटन र कार्तिक २६ तथा मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा भएको थियाे ।

न्युज24नेपालबाट 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment