कोरोनाका कारण झापामा थप पाँचको मृत्यु


झापा । कोरोना संक्रमणका कारण झापामा थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन्।

भद्रपुर–१ का ८४ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख ३१ मा कोरोना संक्रमण पुष्टि भएका ती पुरुषालाई उपचारका लागि मेची अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो। उपचाररत वृद्धको उपचार केन्द्रमै मृत्यु भएको हो।

त्यस्तै‚ भद्रपुर(२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको फोकल पर्सन भट्टराईले जानकारी दिए।

भद्रपुर–६ का ५८ वर्षीय पुरुषको पनि मेची कोभिड उपचार केन्द्रमा बुधबार बिहान मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या आएपछि कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए।

त्यसैगरी कोरोना संक्रमणबाट दमक नगरपालिका–५ का पूर्ववडाध्यक्ष मोती इङनामको मृत्यु भएको वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । उनको विराटनगरको नोबेल अस्पतालमा बुधबार बिहान निधन भएको गुरुङले पुष्टि गरे।

त्यस्तै‚ अर्जुनधारा नगरपालिका–९ की एक ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड हस्पिटलमा मंगलबार राति मृत्यु भएको हो।

योसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ सय ८७ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment