आज प्रधानमन्त्रीले विश्वासको मत लिँदै, जोगिएला त ओली पद ?

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ।

आजको संसद बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ । यसअघि सम्पन्न कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको हो ।








बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेकाले प्रतिनिधिसभा बैठक बस्न आवश्यक रहेको व्यहोराको पत्र यसअघि नै राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पठाएको छ ।

त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यसहित विश्वासको मत माग्नु हुने छ । प्रधानमन्त्रीले राखेको सो प्रस्तावमा छलफलका लागि समय निर्धारण गरिने छ । दलीय आधारमा सांसदहरुले आफ्नो मत राख्नेछन् । त्यसपछि प्रधानमन्त्री ओलीले छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने छ ।

विश्वासको मतको मतदानमा कोरोना सङ्क्रमित सांसदहरूलाई समेत सहभागी गराइने भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा उनीहरूका लागि मतदानको व्यवस्था गरिने छ । हालसम्म २८ सांसद सङ्क्रमित भएको विवरण संसद् सचिवालयले प्राप्त गरेको छ ।

प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ सांसदको समर्थन लिनुपर्नेछ । प्रतिनिधिसभामा हाल कायम सांसदहरुको संख्या २७१ छ ।

कुल २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एमालेको १ सय २१ सिट छ । प्रमुख प्रतिपक्षी कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसद १/१ सांसद छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् भने एमालेकै माधव–झलनाथ समूहले ओली पक्षमा मतदान नगर्ने संकेत गरेकाे छ ।

एमालेले ह्वीपसमेत जारी गरेपनि माधव–झलनाथ समूहले आज ९ बजेसम्म ओलीको निर्णय पर्खने र त्यसपछि सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।  माधव–झलनाथसँग ३० भन्दा बढी सांसद रहेको बताइन्छ ।

जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको विपक्षमा उभिएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतो तटस्थ बस्ने निष्कर्षमा पुगेको छ । आइतबार बसेको जसपाका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने र स्वतन्त्र छाड्ने निर्णय गरेको थियो ।

यस हिसाबले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने संकेत देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment