कोरोना कहरमा मनोबल बढाउने १० व्यावहारिक उपायहरू

कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउँदै लगेको छ । मानिसहरूमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपत्तिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वाभाविक नै हो । यसलाई असामान्य अवस्थामा मानिसले देखाउने स्वाभाविक प्रतिक्रिया भनिन्छ ।

तर लामो समयसम्मको डर, चिन्ता, भय, तनाव हुनु भने राम्रो होइन । यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउँदै लैजान्छ । तनावले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । कोरोनाको संक्रमणलाई जित्न रोग प्रतिरोधात्मक क्षमता मजबुत हुनुपर्छ ।

कोरोनाको संक्रमणसँग लड्न शरीरमा रोग प्रतिरोधात्मक शक्ति आवश्यक पर्छ भने मानसिक वा मनोवैज्ञानिक रुपमा मनोबल (आत्मबल वा आत्मशक्ति) उच्च हुनुपर्छ ।

शरीरिक रुपमा स्वस्थ हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित खानपिन, व्यायाम, पर्याप्त आराम र निन्द्राजस्ता कुरा आवश्यक पर्छन् ।

जसरी व्यक्तिको आआफ्नै शारीरिक क्षमता हुन्छ, त्यसैगरी प्रत्येक व्यक्तिको आआफ्नै मानसिक क्षमता हुन्छ । जसलाई साइकिक इनर्जी वा आत्मबल वा आत्मशक्ति पनि भनिन्छ ।

कुनै कार्यमा सफलता पाउन, कुनै घटना वा परिस्थितिको सामना गर्न व्यक्तिमा भएको मनोबलले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । आत्मबल उच्च भएको व्यक्तिमा आत्मविश्वास पनि उच्च नै हुने गर्दछ ।

हामीले सुन्दै आएका छौँ- कोरोनाको संक्रमणलाई जित्न मनोबल उच्च बनाउनुपर्छ । कोरोनालाई जितेकाहरूको पनि एउटै भनाइ छ- मनोबल उच्च भए कोरोना भाइरसलाई जित्न सकिँदो रहेछ । कोरोनाको भ्याक्सिन भनेकै मनोबल हो । तर आत्मबल वा मनोबल कसरी उच्च बनाउने ? मनोबल बढाउछु भन्दा आफैँ बढ्ने पनि होइन । के गर्यो भने आत्मबल उच्च हुन्छ ? यिनै कुराबारे यहाँ केही सुझाव दिँदैछु ।

यस्ता छन् मनोबल बढाउने व्यावहारिक उपायहरू

१. कोरोनासँग लड्न मानसिक रुपमा तयार हुनुपर्छ

य‍ो प्राकृतिक विपत्ति भएकोले हाम्रो हातमा छैन । यो समस्या विश्वको नै साझा समस्या हो ।

यसकारण यसलाई स्वीकार गर्नुको विकल्प छैन । कथंकदाचित् संक्रमण भएको खण्डमा पनि यसलाई सामना गर्छु भन्ने मनस्थिति बनाउनुपर्छ । जस्तो पर्छ त्यस्तै टर्छ होइन कि मानसिक रुपमा तयार भएर बस्नुपर्छ ।

यसले हामीलाई संक्रमणसँग जुझ्न सहज बनाउछ । कोरोनाको डर, चिन्ता, भय कम भएर जान्छ ।

२. सुरक्षाका उपाय अपनाउनुपर्छ

कोरोनाको संक्रमणबाट बच्न सुरक्षाका उपायहरू कडाइका साथ अवलम्बन गर्नुपर्छ ।

भीडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुन–पानीले हात धुने । यसो गर्दा संक्रमित हुनबाट जोगाउने नै भयो । साथै मानसिक रुपमा पनि आफू सुरक्षित छु भन्ने कुरामा मन ढुक्क हुन्छ । आत्मबल उच्च हुन्छ ।

३. परिस्थितिप्रति सकारात्मक धारणा

समय सधैँ एकैनास हुँदैन । अहिलेको समय कठिन भए पनि एक दिन अवश्य टरेर जान्छ । भागवत् गीतामा भनेझैँ– जे हुन्छ राम्रोकै लागि हुन्छ । त्यसैले आत्मविश्वास र धैर्यता कायम राख्नुपर्छ । मनोबल उच्च राख्दा आत्मविश्वास र धैर्यता दुवै बढेर जान्छ ।

यस्तो बेला आत्तिनुहुन्न भनेर सोच बनाउनुपर्छ ।

कोर‍ोनाको संक्रमण भए पनि मरिन्छ नै भन्ने हुँदैन । कोरोनाको संक्रमणका कारण हुने मुत्यदर अत्यन्त न्युन छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मबलले संक्रमणलाई जित्न सकिन्छ भन्ने सोच बनाउनुपर्छ ।

रोग प्रतिरोधात्मक क्षमता र आत्मबल दुबैलाई आफैँले बढाउन सकिन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

४. हौसला तथा प्रेरणा

विपत्तिको समयमा हौसला र प्रेरणा अतिआवश्यक हुन्छ । घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मीयताले विपत्तिसँग जुझ्न उर्जाको काम गर्छ । विपत्तिको समयमा आफूलाई साथ दिने, आफ्नो भावना बुझ्ने तथा हौसला दिने व्यक्तिहरूसँग आफ्नो मनका भावनाहरू बाँड्ने गर्नुपर्छ ।

विपत्तिको वेला प्रेरणादायी भनाइ सुन्ने, किताब पढ्ने र चलचित्र वा भिडियो हेर्ने गर्नुपर्छ । आफूले आफैँलाई आत्मसुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तैः “म ठिक छु,  स्वस्थ छु, ठिक हुँदै गएको छु ।” यस्ता शब्दहरू बारम्बार उच्चारण गरेर आत्म-सुझाव दिन सकिन्छ ।

आफ्ना विभिन्न सबल पक्षहरू लेख्ने, मनन वा उजागर गर्नेले पनि आत्मबल बढ्छ ।

५. मनोसामाजिक सहयोग

विपत्तिको बेला विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको जोखिम बढेर जान्छ । लामो समय सम्मको मनोवैज्ञानिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगले व्यक्तिको आत्मबल र आत्मविश्वासलाई कमजोर बनाउन सक्छ ।

यस्तो अवस्थामा भौतिक सहयोग मात्र पर्याप्त हुँदैन । मनोवैज्ञानिक वा मनोसामाजिक सहयोगको पनि जरुरत पर्दछ । यस्तो बेला विज्ञको सहयोग चाहिन्छ । मानसिक रुपमा स्वस्थ व्यक्तिमा मात्र आत्मबल र आत्मविश्वास राम्रो हुन्छ ।

६. तनावको व्यवस्थापन

तनावले शारीरिक तथा मानसिक रुपमा सिथिल बनाउँछ । विपत्तिका बेला तनाव बढ्ने नै भयो । नियमित रुपमा योग-ध्यान, व्यायाम गर्ने, गहिरो श्वास-प्रश्वासका अभ्यासहरू गर्ने, शुद्ध सन्तुलित भोजन गर्ने, पर्याप्त मात्रामा सुत्ने र आराम गर्ने गर्नुपर्छ । जसले तनाव कम गर्न मद्दत पुर्‍याउँछ। ध्यानले मनलाई शान्त राख्न सहयोग गर्छ ।

७. आनन्दायक क्रियाकलाप

कोरोनाको कहर र निषेधाज्ञाको समयमा आफ्नो रुचिका विषय र क्रियाकलापहरूमा धेरैभन्दा धेरै समय बिताउनुपर्छ । जस्तोः आफूलाई मनपर्ने किताब पढ्ने, चलचित्र हेर्ने, संगीत सुन्ने, लेख्ने, आफ्नो आस्था-विश्वासअनुसार धार्मिक कार्यमा भाग लिने, पूजापाठ गर्ने, चाडपर्व मनाउने, मनोरञ्जन आदि जस्ता विषयमा सक्रिय हुने । यसले गर्दा एक त समयको सदुपयोग हुने भयो, अर्कोतर्फ दैनिकीलाई सहज बनाउन सकियो । आफूले दैनिक गर्ने कार्यहरूलाई निरन्तरता दिने गर्नुपर्छ । नत्र खाली दिमाग सैतानको घर हुन जान्छ ।

आफ्ना रुचिकर कुरामा समय बिताउँदा तनाव कम हुने, आनन्दसँग दिन बित्ने हुँदा सकारात्मक सोचको बिकास हुनुका साथै आत्मबल समेत बढ्छ।

८. सकारात्मक जीवनशैली

कोरोनाको संक्रमण र निषेधाज्ञाले गर्दा अहिले व्यक्तिको जिवनशैलीमा समेत पहिलाको भन्दा परिवर्तन आएको छ ।

तनावको बेला व्यक्तिले कि त सकारात्मक व्यवहार देखाउँछ कि नकारात्मक व्यवहार देखाउँछ । सकारात्मक जीवन शैली अपनाएको खण्डमा व्यक्ति चाडै पुर्ब अबस्थामा फर्कन सक्छ। आत्मबल पहिला जस्तै उच्च हुन्छ । तर नकारात्मक जीवन शैलीले भने समस्या जटिल हुदै जान्छ । विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको समस्या देखापर्न सक्छ।

हाम्रो दैनिक जीवनशैली र। क्रियाकलापहरू आफू र अरुलाई हानिरहित र सकारात्मक हुनुपर्छ ।

९. सत्यतथ्य सूचना र जानकारी :

विपत्तिको समयमा अनेक किसिमका अफवाह फैलिन सक्छन् । तनावको वेला हाम्रो निर्णय लिने, समस्यालाई बुझ्ने क्षमतामा पनि कमी आउँछ । हामी भावनामा बग्न सक्छौँ । यस्तो अवस्थामा हामीले तथ्यपरक रुपमा सोच्ने र समस्यालाई बुझ्ने गर्नुपर्छ ।

विषयवस्तु र घटनालाई हेर्ने दृष्टिकोण सही बनाउनुपर्छ ।

यस अवस्थामा आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने गर्नुपर्छ । समाचारहरू बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुँदैन । यस्ता समाचारहरू दिनमा १-२ पटकभन्दा बढी नहेरेकै राम्रो हो । दुःखद समचारहरू हेर्दा र सुन्दा पनि हामीमा बेचैनी, निराशा, छट्पटी बढेर आउँछ । मन दुःखी हुन्छ । तनाव बढ्छ । यसले मानसिक आघात हुन पनि सक्छ ।

१०. सीप, तालिम र शिक्षा

कुनै पनि विषयमा आवश्यक सीप, तालिम र शिक्षा पाउँदा आत्मविश्वास तथा आत्मबल अवश्य  बढ्छ नै । कोरोनाको संक्रमणको बेला मनोसामाजिक स्वास्थ्यका विषयमा मनोशिक्षा, स्व हेरचाहका विषयमा जानकारी तथा सरसफाइलगायत अन्य विषयको तालिमले आत्मबल बढाउन मद्दत गर्छ ।

 (लेखक मनोविद् हुन्, हाल मार्क नेपाल मनोसेवा केन्द्रमा संलग्न छन्)

न्युज२४ नेपालबाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment