पहिराले ग्रामीण सडक अवरुद्ध, खाद्यान्न ढुवानीमा समस्या


बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा बैतडीका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण सडकहरुमा पहिरो खस्नुका साथै हिलाम्य भएको हुनाले सवारी साधन सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।

वर्षाकै कारण शिवनाथ गाउँपालिकाका ग्रामीण सडकहरु अवरुद्ध भएको गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा बाधा पुगेको छ, वडा कार्यालयहरुसँग जोडिएका सडकहरु पहिरो र हिलाम्मे छन् । ”

वर्षाका कारण जिल्लाको पाटन–पञ्चेश्वर, सतबाँझ–सुर्नया, ढोल्यामोड–सुर्नया, ढोल्यामोड–पुर्चौंडी, देहीमाण्डौं–गिरेगडा, पाटन–सकार–कैलपाल सडक, धर्मघर–सनसेरीमाडौँ सडक, देहीमाडौँ–दुर्गाभवानी सडक, देहीमाडौँ–सुरकाल सडक लगातारको वर्षाका कारण अवरुद्ध भएका हु्न् । यीबाहेक अन्य ग्रामीण सडकहरु पनि अवरुद्ध बनेका छन् ।

स्तरोन्नतिका काम भइरहेको सतबाँझ–सुर्नया सडकमा जम्मा भएको माटो वर्षाले बगाउँदा सवारी आवागमनमा समस्या भएको अस्थायी ट्राफिक पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “लगातारको वर्षाले सडक हिलाम्य छन्, कुनैकुनै ठाउँमा पहिरो पनि खसेको छ, गाडी चलाउन मिल्ने अवस्था छैन ।”

कच्ची सडकहरुमा वर्षात्को समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन् । सञ्चालनमा रहेका कच्ची सडकहरुमा गाडी चलाउन निकै मुस्किल भएको यातायात व्यवसायीहरुले बताएका छन् । वर्षाका कारण सडक हिलाम्मे हुँदा सवारी सञ्चालनमा समस्या भइरहेको जीप चालक नरेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कच्ची सडक त्यसैमा लगातारको पानीले गर्दा समस्या भएको छ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment