राष्ट्रिय कविता महोत्सवमा प्रथम कविता : देशको नक्सा (भिडियो सहित)

  • कविता राई


म कोरिरहेकी छु

देशको सग्लो नक्सा ।

खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू

जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा

आफ्नी आमाको मुहारचित्र ।

अनायस करेसाको डिल भत्किन्छ

पर्खाल उठाउँछु

सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन

कुर्कुच्चा दुखिन्जेल किच्छु÷टाल्छु

र मेट्छु धाँजाहरू !


विषाक्त हावा बोकिआउने आँधी

उडाउनै खोज्छ मलाई

बलेँसी चिरा पार्ने मुसलधारे वर्षा

बगाउन खोज्छ मलाई

छानाबाट झरेका पानीका तप्कनाले समेत

शिरदेखि पैतालासम्मै भिजाउँछ

तर पनि म उभिइरहन्छु पहाडजसरी

घरको मूल खाँबो समातेर

र कोरिरहन्छु सहस्र रेखाहरू !


ओ ! सिमाना काटिजाने चराहरू

पहाड भत्काएर बगिजाने खोलाहरू

देवल उठाइरहेका पौरखी धमिराहरू

माटोको दरबार उठाइरहेका कमिलाहरू

सुन,

भूगोलका यिनै मसिना रेखाहरूले त

जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई

जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ

र लटरम्म खुसीको घाम फल्छ !

छामिहेर त

आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी

हो, धड्किरहेको छ त्यहाँ

छुटेका भूगोलसँगै छुटेका मनहरू

एकाकार भएको

स्वाधीन देशको सग्लो नक्सा ।

टेम्केमैयु गाउँपालिका–९, भोजपुर

प्रदेश नं. १, नेपाल

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment