संसद विघटनकाे मुद्दामा सरकार पक्षको ‘प्रतिरक्षा बहस’ आजदेखि


काठमाडौँ । प्रतिनिधिसभा (संसद) विघटनविरुद्धको मुद्दा आजदेखि सरकार पक्षका वकिलहरुको बहस सुरु हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी उक्त मुद्दामाथिको सुनुवाइका क्रममा रिट निवेदक पक्षका वकिलहरुको प्रारम्भिक बहस सकिएको छ ।

रिट निवेदकहरुलाई प्रारम्भिक बहसका लागि १२ घण्टाको समय दिइएको थियो । सो अवधिमा निवेदक पक्षका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन् । आइतबार मात्र १६ जना कानुन व्यवसायीले बहस गरेका थिए । धेरैजसो वकिल÷कानुन व्यवसायीले पाँच मिनेट मात्र बोल्न पाएका थिए ।

आज (सोमबार)देखि भने मुद्दा विपक्षी अर्थात सरकार पक्षबाट बहस सुरु हुनेछ । यसमा प्रधानमन्त्री तथा राष्ट्रपतिको तर्फबाट महान्यायाधिवक्ताको नेतृत्वमा बहस हुनेछ । रिट निवेदक पक्षका कानुन व्यवसायीले संसद विघटन गर्नु असंवैधानिक रहेको र सोको पुनस्र्थापनासँगै गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले आदेश दिनुपर्ने तर्क गरेका थिए ।

उक्त तर्कहरुको खण्डन र मुद्दाको प्रतिरक्षा गर्न सरकारी वकिल र अन्य प्रत्यार्थीका कानुन व्यवसायीका लागि कुल १५ घण्टाको समय इजलासले दिएको छ । तर, समय व्यवस्थापनमा सरकारी वकिल र सभामुख अग्नि सापकोटाका निजी कानुन व्यवसायीबीच विवाद देखिएको छ । सभामुखका कानुन व्यवसायीले उक्त १५ घण्टाको आधा समय दिन माग गरे पनि महान्यायाधिवक्ताले इन्कार गरेको बताइएको छ ।

सरकार पक्षका कानुन व्यवसायीको बहस सकिएपछि पुनः रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्न पाउनेछन् । त्यसपछि इजलासको फैसला आउने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment