नियमित वर्षाले २ दिनमा २३ सडक अवरुद्ध


काठमाडौं । नियमित वर्षाका कारण पछिल्लो दुई दिनमा देशका २३ सडक अवरुद्ध बनेका छन् । नियमित वर्षाका कारण आएको बाढी र पहिरोले अहिले १४ सडक ठप्प छन् भने ४९ सडक एकातर्फबाट मात्रै सञ्चालनमा छन् ।

पूर्व–पश्चिम राजमार्गको नवलपुरको थुम्सी, पितौजीमा अवरुद्ध छ । दुई साता पहिलेदेखि नै अवरुद्ध भएकाले सडक विभागले खुलाइरहेको डुम्रे–बेशीशहर–चामे सडक पहिरोका कारण थप क्षतिग्रस्त बनेको छ ।

यो सडक भन्सार र तुरतुरेमा अवरुद्ध भएकामा तुरतुरेमा एका तर्फबाट सडक खुलाइएको छ । बेंशीसहर–चामे सडक ठप्प भएकामा पैदलयात्रु समेत झुण्डिएर यात्रा गर्नुपरेको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिनुभयो ।

बुधबार नै हुलाकी राजमार्गअन्तर्गत बर्दियाको सत्तीघाट कर्णाली पुलमा सडक अवरुद्ध भएको छ । चितवन जिल्लाको ठोरी–भरतपुर–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल सडक र आरुघाट–सिर्दिवास–रोइला सडक पनि अवरुद्ध छ ।

राष्ट्रिय राजमार्गमा नै बाढी र पहिरोले अवरोध पुर्याएकामा विभिन्न सडकमा एकातर्फको पहिरो हटाएर सवारीसाधन चल्न थालेको छ । अरनिको राजमार्गको सखुवा, बिपी राजमार्गको माम्ति र कमेरे फाँटमा सडक एकातर्फी रुपमा चालू छ । पृथ्वी राजमार्गका धेरै ठाउँमा बुधबार पहिरो गएकामा आजसम्म एकातर्फको सडक खुलाएर सडक सुचारु गरिएको छ ।

यो राजमार्गको जोगीमारा–जवांग खोला खण्ड, एनापहरा, याम्पा, डुम्रे, देउराली, घाँसीकुवा, कुम्ले खोलालगायतका स्थानमा सडक आंशिक सुचारु अवस्थामा छन् ।

त्रिभुवन राजपथको टिस्टुङ–देउराली कालापानी सडक, सिद्धार्थ राजमार्गको सिद्धबाबा र पूर्व–पश्चिम राजमार्गको खरङ्गामा पनि एकातर्फबाट मात्रै सडक सुचारु छ । अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोक जिल्लाको कोदारीमा अवरुद्ध सडक अझै खुल्न सकेको छैन । रसुवाको त्रिशुली खोला, सानो भार्खु खोला, गाँजाबारीमा असार १ मा पहिरोले अवरुद्ध सडक पनि अझै अवरुद्ध छ ।

गत जेठ ३१ गतेदेखि अहिलेसम्म गरी ८५ सडक पूर्ण रुपमा अवरुद्ध रहेकामा अहिलेसम्म २४ सडक दुवैतर्फबाट सुचारु भइसकेको छ । ४८ सडक आंशिक र १३ पूर्णरुपमा ठप्प छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता