दुई महिनापछि आन्तरिक हवाई उडान आजबाट खुला


काठमाडौँ । निषेधाज्ञाका कारण २ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान आजदेखि पुनः खुला गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेसँगै उडान सुचारू हुन थालेका हुन् ।

कोरोना संक्रमण बढेपछि नियन्त्रणका लागि गएकाे वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरू भएकाे थियाे भने वैशाख २० गतेदेखि आन्तरिक उडान समेत बन्द गरिएको थियाे । उक्त उडान बिहीबारबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र गर्न पाउने नियमसहित प्राधिकरणले वायुसेवाको उडान तालिका बुधबारै स्वीकृत गरिसकेको छ ।

सरकारको आदेशअनुसार नै उडान सुचारू गर्न लागेकाे नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार एक दिनमा ६४ वटासम्म उडान भर्न पाउनेछन् । जसमध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअरले दुई दैनिक उडान गर्न पाउनेछन् ।

यसैगरी अन्तर्राष्ट्रिय उडान पनि सुचाए गरिएकाे छ । हाल पाँच वटा हवाई कम्पनीले उडान अनुमति पाएकाेमा अब थप चार वटा हवाई कम्पनीलाई पनि अनुमति दिइएको छ । जसअनुसार नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment