रुपन्देही : भारतीय ट्रकका कारण नेपाली व्यवसायी कामविहीन


भैरहवा । भारतीय मालबाहक ट्रकका कारण आफूहरु मर्कामा परेको भन्दै रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालबाहक सवारी रोकेका छन् । भारतबाट भारबाहन क्षमताभन्दा दोब्बर–तेब्बर लोड बोकेर आउने र ती सवारी सिधै काठमाडौंसम्म पुग्दा नेपाली मालबाहक सवारी खाली बस्नु परेको व्यवसायीको आरोप छ ।

भारतबाट सामान बोकेर नेपाल आई भन्सार जाँचपास गरेर बाहिर निस्किएका भारतीय नम्बर प्लेटका मालबाहक गाडी सोमबारदेखि रुपन्देहीको बेलहियास्थित बाइपास सडकमा रोकिएका छन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिले भारतीय ओभरलोड बोकेका गाडीका कारण आफ्ना मालबाहक सवारी खाली बस्नु परेका कारण रोकेको दावी गरे । क्षमताभन्दा दोब्बर–तेब्बर सामान बोकेका यी सवारी भन्सार विन्दुमै भारमिलान गरी गन्तव्यमा जानुपर्ने मालबाहक सवारी साधनको भारबहन नियमन सम्बन्धी निर्देशिका–२०७४ मा उल्लेख छ ।

तर यो कानून अवज्ञा गर्दै ओभरलोड बोकेका गाडी नेपालका जुनसुकै ठाउँमा निर्वाध चलिरहेको उनीहरुको आरोप छ । ट्राफिक प्रहरीले नाकामा ओभरलोड गाडीलाई अधिकतम एक हजार ५ सय रुपैयाँ जरिवाना काटेर छाड्ने गरेको छ ।

जरिवाना काटेकै भरमा नेपालभर निर्वाध चल्न दिइँदा नेपाली व्यवसायी फुर्सदिलो बनेको उनीहरुको गुनासो छ । अधिकांश भारतीय गाडी ओभरलोड बोकेर नेपाल आउने गरेको ट्राफिक प्रहरीले पनि स्वीकारेको छ ।

नेपाली व्यवसायीले भन्सार विन्दुमै ओभरलोड ट्रकको भारमिलान गर्नुपर्ने माग गर्दै आएका छन् । भन्सार भने आर्थिक ऐन र भन्सार ऐनले ओभर लोड हेर्ने जिम्मेवारी नदिएको भन्दै पन्छिने गरेको छ ।

नियम अनुसार नेपालमा चल्ने मालबाहक ६ चक्के सवारीले ९ दशमलव ६, १० चक्केले १६दशमलव २, १२ चक्केले २१, १४ चक्केले २५ र १८ चक्केले ३० टन बोक्न पाउँछन् । यही व्यवस्था अनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ । तर, भारतीय एउटै सवारीले ९६ टनसम्म सामान बोकेर आउने गरेको व्यवसायी आरोप लगाउँछन् ।

भारतीय मालबाहक गाडीलाई जरिवानाकै भरमा जति लोड बोके पनि निर्वाध चल्न दिने तर नेपाली मालबाहक गाडीलाई ३० टनभन्दा बढी बोक्नमा रोक लगाइने गरिएको व्यवसायी बताउँछन् ।

जरिवानाकै आधारमा भारतीय गाडीलाई ओभरलोड बोक्न दिइँदा एकातर्फ सडक भत्किएका छन् भने नेपाली व्यवसायीले काम नै नपाउँदा ट्रक थन्क्याएर राख्नु परेकोमा व्यवसायी चिन्ता व्यक्त गर्छन् ।

भन्सारमै भारमिलान भए नेपाली ट्रकले पनि काम पाउने भएकाले नेपाली र भारतीय सवारीलाई एउटै नियम बनाई ओभरलोड नियन्त्रणमा कडाइ गर्न व्यवसायी माग गर्छन् ।

 न्युज24नेपालबाट 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment