पुँजीवादी जबजलाई अनुशरण गर्न सकिँदैन, हाम्रो यात्रा समाजवाद हो : झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेबाट अलग भई दर्ता गरिएको नयाँ दल नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलिय जनवाद (जबज) को युग अन्त्य भएको बताएका छन् ।

मंगलबार भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलबाट निर्वाचन आयोगमा दर्ता गरिएको नयाँ पार्टीका केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै जबजको युग सकिएर समाजवादको युग आएको बताएका हुन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले अघि सारेको जबज अहिलेको अवस्थामा पुँजीवादी सिद्धान्त भएको पनि उनले बताएका छन् ।

उनले उनले टेलिफोनमार्फत् बैठकमा भनेका छन्, ‘अब जबजको युग सकियो । अबको अवस्थामा जबज पुँजीवादी सिद्धान्त हो। त्यसलाई अनुशरण गर्न सकिन्नँ। हामी समाजवाद चाहन्छौं। अबको हाम्रो प्रस्ट कार्यक्रम भनेको समाजवादमा रुपान्तरणमूलक कार्यक्रम हो।’

बैठकमा युगअनुसारको बोली सबैले बोल्न सिक्नुपर्ने पनि उनले बताएका छन् । उनका अनुसार युगअनुसारको कार्यक्रम हामीले निर्धारण गरेर जानसक्नुपर्छ।

एमालेबाट अहिले जुन अवस्थामा आइएको छ त्यो विद्रोहको विन्दू भएको उनले औँल्याइएका छन् । उनले भनेका छन्, ‘अहिले हाम्रो पार्टीको अग्रगतिलाई जुन ढंगले रोकिएको छ, त्यसका विरुद्ध अहिले हामी विद्रोहको विन्दुमा आइपुगेका छौं। यो नवनिर्माणको लागि विद्रोह हो।’

अहिलको नयाँ पार्टी नयाँ पार्टी निर्माणको विद्रोहसमेत रहेको उनको भनाइ छ । ‘यो नयाँ पार्टी निर्माणको लागि विद्रोह हो। हामीले ठीक वैचारिक र राजनीतिक दिशा लिनुपर्छ। प्राविधिक कुराले विद्रोह अगाडि बढ्दैन,’ उनले भनेका छन्, ‘विद्रोह भइरहेको बेलामा दक्षिणपन्थी अवसरवाद विभिन्न किसिमका जालझेल र षड्‍यन्त्र गरिरहेको हुन्छ भने क्रान्तिकारी मार्क्सवाद विद्रोहको झण्डा लिएर अगाडि बढिरहेको हुन्छ।’

उनले पार्टीमा कहिलेकाहीँ दक्षिणपन्थी चिन्तनका मानिसहरुको जन्म हुने र त्यसले आफूनिकटका स्थायी कमिटी सदस्यहरुलाई पनि अल्झाएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘त्यस्तो बेलामा कहिलेकाहीँ दक्षिणपन्थी दृष्टिकोण र चिन्तनहरु जन्मिने गर्छन्। हाम्रो पार्टीका स्थायी कमिटीका धेरै सदस्यहरुलाई मध्यपन्थले अल्झायो। मध्यपन्थ पनि अवसरवादकै एउटा रुप हो।’

साथै, उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आतंकबाट वामपन्थी पीडित रहेको पनि बताएका छन्। पीडितले उनको दमन नबिर्सेको र ओलीले संसद् विघटन गरेको दोस्रोपटक सर्वोच्चले गरेको फैसलालाई पुस्तिकाका रुपमा छपाएर राष्ट्रव्यापी बनाउनुपर्ने पनि उनले बैठकमा भने ।

नयाँ पार्टीलाई अघि बढाउन पनि उत्तिकै चुनौतीहरु रहेको पनि उनले औँल्याएका छन् । उनका अनुसार बाटो सजिलो छैन, बाटो कठिनाइपूर्ण छ । भीरपाखामा जन्मेर हुर्केहरुले त्यस्ता काँडा, भीरपाखाको चुनौतीको सामना गर्ने विश्वास पनि उनले व्यक्त गरे।

अन्तमा एमालेभित्र अल्झेर बसेकाहरुलाई सही बाटोमा ल्याउन आफूहरुले सक्नुपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment