मोरङ : कोरोना रोकथाम तथा न्यूनीकरणका लागि लकडाउन र उच्च सतर्कता अपनाउँदै स्थानीय तह

 

  • धिरज दाहाल,

विराटनगर । कोरोना संक्रमणको तेस्रो जोखिम आउन सक्ने भनेर चिकित्सकले चेतावनी दिएसँगै मोरङका स्थानीय तहमा सर्तकता अपनाउन थालिएको छ ।

मोरङको उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोनाका संक्रमित बढ्न थालेपछि थप जोखिम बढ्न सक्ने भन्दै गत बुधबार विहानबाट लागू हुनेगरी औषधि, दूध डेरी, कलेजका परीक्षा र खानेपानी सेवा बाहेक अन्य सबै सेवा तथा व्यवसायहरु बन्द गर्ने निर्णय गरेको छ ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कोरोनाको जोखिमलाई कम गर्न नियमसहितको लकडाउनमा नगए थप जोखिम हुने देखिएकोले लकडाउनको निर्णय गरिएको बताए ।

उनले भने, “संक्रमणको जोखिम थप बढेकोले एक सातासम्मका लागि लकडाउन गरिएको हो ।” मोरङ जिल्लाकै बेलबारी नगरपालिकामा १९ गतेदेखि २५ गतेसम्म लकडाउन गरिने भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समितिको बैठकले कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै गएको अवस्थामा एक हप्तासम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण उद्योग पसल, करकारखाना, निजी तथा सरकारी कार्यालयहरु, र बैंक वित्तीय संस्थाहरु बन्द गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

मोरङको पुरानो सदमुकाम रंगेलीमा भने कोरोनाका जोखिमलाई ख्याल राख्दै उच्च सर्तकता थालिएको छ । नगरपालिका क्षेत्रमा चेतानामुलक सन्देश जारी गर्दै अत्यावश्यक काम बाहेक अन्य काममा घर भन्दा बाहिर ननिस्कन नगरवासीलाई आग्रह गरेको छ ।

त्यस्तै नगरपालिकाले क्वारेन्टाइन तथा अस्पताललाई तयारी अवस्थामा राखेको जनाएको छ । “हामी सम्पूर्ण रुपमा तयार छौ,” मेयर दिलिप बगडियाले भने, “कोरोना संक्रमणका कारण नगरवासीले संकट सामना गर्नुपर्दैन ।”

यता प्रदेश नं १ को राजधानी विराटनगरमा संक्रमण दर भने केही घटेको छ । दोस्रो लहर सकिएर फेरि समस्या बढाउन सक्ने र तेस्रो लहरसमेत आउने जोखिम देखिएकोले स्वास्थ्य सम्बन्धी मापदण्डका विषयमा जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाले बजार तथा पसलको खुल्ला गर्ने समयअवधि साँझ ६ बजे गरेको छ ।

त्यस्तै बजारमा मास्क नलगाइ हिँडडुल गर्ने सर्वसाधारणलाई बजारमै होल्ड गर्न थालिएको छ । महानगरको अनुरोधमा बिराटनगरका बजार क्षेत्रमा सुरक्षाकर्मीले विना मास्क हिँडडुल गर्नेलाई आधा घण्टा होल्ड गर्दै मास्क लागएर मात्र छोड्ने गरेको छ ।

महानगरका मेयर भीम पराजुली भन्छन्, “बिराटनगरमा कोरोना संक्रमितको संख्या अनुपातमा कमी देखिएपनि आउन सक्ने जोखिमलाई नजरअन्दाज गर्न सकिदैन । महानगर तत्कालै लकडाउन गर्ने पक्षमा त छैन तर हामी पूर्ण सचेत छौं ।”

महानगरवासीको स्वास्थ आफ्नो पहिलो प्राथमितामा पर्ने भएकाले पनि आफू संक्रमणको अहिले घटेको दर कायम राख्न र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने विषयमा नगरबासीलाई सचेत गराउन प्रतिबद्ध रहेको बताउँछन् ।

प्रदेश–१ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment