भारतको विहारमा नक्कली नेपाली नोट छाप्ने कारखाना नै सञ्चालनमा


काठमाडौं । नक्कली नोटको विगविगी देशभर फैलिएको छ । हरेक बैंकदेखि पसलसम्म नक्कली नोटहरु छ्याप्छ्याप्ती बन्दै गर्दा यस्ले निम्त्याउन सक्ने समस्या पनि जटिल बन्दै गएको छ । नक्कली नोटलाई छेक्न र रोक्न बैंकहरुले विशेष सुरक्षा सतर्कता अपनाइसकेका छन् ।

तर सर्वसाधारण र पसलहरुलाई यो चिन्न र छेक्न गाह्रो छ । यस कारण पनि धेरै पसले तथा सर्वसाधारण फसिसकेका छन् । सक्कली र नक्कली छुट्याउन निकै गाह्रो पर्ने हुँदा यसबारे सरोकारवाला निकायहरुले सचेतना सम्बन्धी कार्यक्रमहरु नै गर्नु पर्ने आवाज पनि समय समयमा उठ्दै आएको छ ।

बैकिङ साक्षरताको अभावमा आम सर्वसाधारण र व्यापारीहरुले नक्कली नोट चिन्ने अवस्था छैन । खुला सीमाना त्यसमाथि भारतका बिभिन्न शहरमा हुने नक्कली नोटको उत्पादन हुँदा त्यहाँ नेपाली नोटहरुको उत्पादन पनि हुँदै आएको छ । विहारमा नक्कली नेपाली नोट छाप्ने कारखाना नै रहेको पनि बताइन थालेको छ । यसै क्रममा हालै रौतहट प्रहरीले ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ ।

रौतहट प्रहरीका लागि ठूलो सफलता मानिएको यो घटनापछि तराईका सीमावर्ति क्षेत्रमा थप सजगता आवश्यक भएको छ । भारतमा छापिएको ९ लाख बढी नक्कली नेपाली रुपैयाँसहित रौतहट प्रहरीले ३ जना नेपालीलाई पक्राउ गरेपछि भारतमा नक्कली नेपाली नोटको उत्पादन भइरहेको समेत छर्लङ्ग भएको छ ।

रौतहट प्रहरीको ठूलो सफलता, ९ लाख बढी नक्कली नोट बरामद

गत सोमबार रौतहट प्रहरीलाई ठूलो सफलता मिल्यो । नक्कली नोटलाई कडाई साथ निगरानी गरिरहेको रौतहट प्रहरीले ९ लाख ९३ हजार नक्कली नोटसहित ३ जनालाई पक्राउ गर्न सफल भयो । जिल्ला प्रहरी कार्यालय रौतहटले भारतबाट नेपाल ल्याउँदै गरेको नक्कली नोटसहित सोमबार तीन जनालाई पक्राउ गरेको हो । नेपालमा एकैपटक यति धेरै नक्कली नोट बरामद भएको पहिलो पटक हो ।

सोमबार दिउँसो २ बजेको समयमा प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले गाडी रोकेर चेकजाँचगर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो । धनुषाको बटेश्वर गाउँपालिका– ४ बस्ने ३८ वर्षका शत्रुधन बरई ठाकुर, महोत्तरी बर्दीबास नगरपालिका– ९ का ३० वर्षका रञ्जीत महतो, महोत्तरीकै भंगाहा नगरपालिका– ४ का २५ वर्षीय दीपेन्द्रकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहारमै सो नक्कली नोट छापिएको सूचना प्रहरीले पाएको छ । प्रारम्भिक अनुसन्धानमा नक्कली नोट फोटोकपी मेसिनबाटै बनाइएकोजस्तो देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरु भरिया मात्र मुख्य नाइकेको खोजी हुँदै

प्रारम्भिक अनुसन्धानमा उनीहरू भरिया मात्र भएको पाइएको र यसका मुख्य नाइकेमाथि अनुसन्धान भइरहेको रौतहटका प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ग्रामीण क्षेत्रमा लगेर उनीहरूले नक्कली नोट फैलाउन खोजेको देखिन्छ ।

सो गिरोहले पहिला पनि यसरी नक्कली नोट नेपाली बजारमा फैलाइसकेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । ठूलो परिमाणमा नोट बरामद हुनुले यसमा ठूलै गिरोहको संलग्नताको आशंका गरिएको छ । रौतहट जिल्लाको ३२ किलोमिटर सीमा भारतसँग जोडिएको छ ।

कोरोनाको काराण नेपाल भारत सिमानाका बन्द भएपनि खुल्ला सीमाको फाइदा उठाउँदै मानिसहरुको नेपाल भारत सहजै आवागमन भइरहेको छ । खुल्ला सिमाकै कारण तस्करी र अपराधिक क्रियाकलाप पनि सहज भएको छ । सो समुहले यस अघि कति नक्कली नोट नेपालको कुनकुन स्थानमा पु¥याएको प्रहरीको अनुसन्धानपछि खुल्दै जाने प्रहरीको विश्वास छ ।

नक्कली र सक्कली नोट खुट्याउनै गाह्रो व्यापारी

यसरी एकपटक बजारमा पुगिसकेको नक्कली नोट ट्रेस गर्न असम्भव जस्तै रहेको छ । सामान्य मानिसले नक्कली चिन्ह मुस्किल हुने गरी तयार पारिएको छ । आफुहरुले पनि बेलाबेलामा नक्कली नोटको सामना गर्नु परेको तर बैंकमा पुगिसकेपछि मात्र थाहा पाएको एक व्यापारीको अनुभव छ ।

सक्कली र नक्कली छुट्याउन बैंकिङ साक्षरता आवश्यक

झट्ट हेर्दा सक्कली र नक्कली नोट छुट्टाउन आम सर्वसाधारणले सक्दैनन् । ती नोट बैंकमा जम्मा हुन गइसकेपछि फेक नोट डिटेक्टर मेसिनको सहायताले छुट्टाउन सकिन्छ । सो मेसिनमा सक्कली नोट राख्दा नोटमा रहेका हिमाल र नम्बरहरु टल्कने अनि नक्कली नोटको भने सबै टल्कने हुन्छ । तर आम सर्वसाधरणहरुसँग त्यस्ता मेसिन नहुँदा भने कसरी छुट्टाउने भन्ने ठोस कुनै आधार छैन् ।

यसरी समातिएकाहरु भरिया मात्र भएको पाइएकाले चाडैँ नै यसका मुख्य नाइकेमाथि समातिनु पर्ने स्थानीयको माग छ । उनीहरु नक्कली र सक्कली नोट चिन्न वैकिङग साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउछन् ।

न्युज२४ नेपालबाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment