महामारीको प्रत्यक्ष मार : पर्यटन क्षेत्रले गुमायाे १ खर्ब बराबरको आम्दानी


काठमाडौं । कोभिड- १९ अर्थात कोरोनाको महामारीले विश्व समुदाय अझै पनि आक्रान्त छ । तर यही महामारीबीच पनि धेरै गतिविधिहरु विश्वभर नै चलायमान बन्ने प्रयासमा छन् । युरोप र अमेरिकाले धेरै गतिविधि खोलिसक्दा अन्य महादेशहरु पनि विस्तारै खुकुलो बन्दै गएका छन् । यही लयमा एसियाले जापानमा सबैभन्दा ठूलो खेल मेला ओलम्पिकको आयोजना नै गरिसकेको छ ।

अब विश्वकप फुटबलको आयोजनाको खातिरदारी गर्ने अवसर पनि एसियाको कतारले नै पाउँदैछ । कोरोनाले विश्वलाई पनि बन्द कोठा भित्र थुन्दा उकुसमुकुस भएको अर्थतन्त्र उकास्ने चुनौतीले अहिले हरेक देशलाई गाँजेको छ । विश्व अर्थतन्त्रका लागि घातक बनेको यस महामारीले सबैभन्दा ठूलो मार विश्वको पर्यटकीय गतिविधिलाई पनि पार्यो । जस्को असर नेपालमा पनि परेरै छाड्यो ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु गरिएको भिजिट नेपाल ट्वान्टी ट्वान्टी जस्तो महत्वाकांक्षी योजना नै तुहिँदा नेपालले तयारीका लागि गरिएको खर्च सबै गुमायो । योजना सुरु हुँदै गर्दा कोरोना महामारीले पनि टाउको उठाएपछि नेपालले भोग्नु परेको क्षति अकल्पनीय छ । तर कोरोना महामारीको प्रभावबीच धेरै मुलुकले सुरक्षित तवरबाट पर्यटकीय गतिविधिको सुरुवात गरेपनि नेपालमा भने अझै पनि यसतर्फ गम्भीर कदम चालिएको छैन । महामारी सुरु भए लगत्तै स्थगित गरिएको विमानस्थलमा नै दिने गरिएको अनअराइभल भिषा अझै खोलिएको छैन ।

यस्तै डबल डोज भ्याक्सिन लगाएर आएका पर्यटकहरुलाई पनि १० दिन क्वारेन्टाइनमा बस्नु पर्ने अव्यवहारिक नीति लागू गरिदा विदेशी पर्यटक थप बोझ बोेकेर नेपाल आउने मनस्थितिमा देखिएका छैनन् । क्युआर कोड बोकेर आएकाहरुलाई सहज गरिनु पर्ने आवाज पनि उठन थालेको छ । पर्यटकीय मौसम सुरु हुन लाग्दा बिभिन्न माध्यमबाट विदेशी पर्यटकहरुले नेपालमा ट्राभल इन्क्वायरी पनि बढाएपछि सरकारले पर्यटन क्षेत्रमा विशेष कदम चाल्न आवश्यक छ ।

 १ खर्ब बराबरको आम्दानी गुमाइसक्यो

नेपालको पर्यटन क्षेत्रमा साढे चार लाख मानिस प्रत्यक्ष रोजगारीमा, साढे तीन लाख मौसमी रोजगारीमा र अप्रत्यक्षसमेत गरी ११ लाख बढी मानिस आश्रित रहेका छन् । तर कोरोनाको कारण नेपालको पर्यटन क्षेत्र धराशायी नै बनेको छ । पर्यटनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा तीनदेखि सात प्रतिशत योगदान गर्ने ठानिदै आएको छ । त्यसमाथि पनि एकजना विदेशी पर्यटक आउँदा नौ जनाको रोजगारी सिर्जना हुने बताइदै आएको छ ।

मुलुकका लागि दोस्रो सबभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र लगभग धराशायी बनेपछि १८ लाख बढी नेपाली नागरिकको रोजीरोटीमा पनि प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा असर परेको छ । नेपालमा पर्यटनसँग विमानसेवा, होटल, रेष्टुराँ , यातायात तथा अन्य तमाम आपूर्तिका सञ्जाल यसमा जोडिएकोले पनि क्षतिको दायर फराकिलो छ । त्यसैले नेपालले पर्यटन क्षेत्रबाट मात्र एक खर्ब रुपैयाँ बराबरको आम्दानी गुमाइसकेको छ ।

 अथाह लगानी डुब्ने डर

कोरोनाभाइरसको जोखिम नियन्त्रणका लागि नेपाल सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन भएको थियो । तर यो भन्दा भन्दा अगाडि नै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएदेखि नै नेपालको पर्यटन जगत ठप्प छ । सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने भिजिट नेपाल ट्वान्टी ट्वान्टीको लक्ष्य राखेको नेपालले यसैको तयारी पनि अकल्पनीय क्षति गुमाउनु पर्यो ।

सन् २०१९ मा झन्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । भ्रमण बर्षको कारण धेरै होटल र पर्यटन व्यवसायीहरुले यस क्षेत्रमा आँखा चिम्लिेर रकम खन्याइरहेका थिए । लगानी सहजै उठने आशामा गरिएको खर्च अब उठने सम्भावनका सबै ढोका हालका लागि बन्द छन् ।

 ४ लाखको रोजगारी प्रभावित

होटल संघ नेपालमा देशमा पर्यटक स्तरका सानादेखि तारेसम्म गरि ३ हजार ५ सय होटल आबद्ध छन्। तिनले प्रत्यक्ष एक लाख र समग्र आतिथ्य क्षेत्रमा ४ लाखलाई रोजगारी दिएका छन् । तर अहिले यी सबै बन्द अवस्थामा छन् ।

सरकारको अदुरदर्शी नीति

कोरोना महामारी सुरु भएपछि सरकारले त्रिभूवन विमानस्थलमा नै दिने अनअराइभल भिषा बन्द गरयो । जुन अझै खुलेको छैन । त्यसमाथि डबल डोज भ्याक्सिन लगाएका पर्यटकहरुलाई समेत नेपाल आउँदा १० दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने नीतिमा कुनै सुधार गरिएको छैन ।

नेपालमा पर्यटकको मौसम सुरु हुनै लाग्दा अन्य देशले लागू गरेको नीति हेरेर नेपालले पनि पर्यटकका लागि लचिलो नीति अपनाउनु पर्ने आवाज उठन थालेको छ । कतिपय पर्यटकहरु दैनिक ५० डलर खर्च गर्ने गरि साता दिनको लागि मात्र पनि बस्न आउने पनि छन् । तर सरकारले यस क्षेत्रमा कुनै पनि अध्ययन नै नगरि हचुवाको भरमा नीति लिएको आरोप व्यवसयाीहरुको छ

नेपालमा व्यवसायिक पर्यटनको सुरुवात भएको ६ दशक वितिसकेको छ । तर दुर्भाग्य आजसम्म नेपालको पर्यटनको मार्केटिङ गर्ने श्रेय विदेशीलाई जान्छ । नेपालले यस क्षेत्रमा न ‘एक्सप्लोर’ गरेको छ न ‘मार्केटिङ’ । तर अब विदेशी नै आउन थुनिएपछि नेपालको पर्यटनले थप गुमाउने आकार बढ्ने छ ।

न्युज२४ नेपालबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment