तालिबानले लागू गर्ने भनेको ‘सरिया’ कानूनमा यस्ता छन् कठाेर सजाय


काठमाडौं । अफगानिस्तान कब्जा गर्न सफल तालिबान संगठनले आफूले गर्ने शासन इस्लामको सरिया कानुनअनुसार हुने बताइरहेको छ ।

राजधानी काबुल कब्जा गर्दै राष्ट्रपति असरफ गनीलाई देश छाडेर भाग्न बाध्य बनाइसकेपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले सञ्चारमाध्यम र महिलाको अधिकारजस्ता मुद्दा ‘इस्लामी कानुनको ढाँचा बमोजिम’ समाधान गरिने बताए । तर तालिबानले व्यवहारमा यसको अर्थ के हो भनेर अहिलेसम्म बताएको छैन ।

वास्तवमा यसअघि तालिबान सत्तामा हुँदा महिलालाई पढ्न र काम गर्न अनुमति दिइएको थिएन । ८ वर्षको उमेरदेखि महिलाले बुर्का (शीरदेखि पाउसम्म ढाकिने कपडा) लगाउन पथ्र्यो । यति मात्र होइन, महिलालाई घर बाहिर जाने अनुमति त्यतिबेला मात्र दिइन्थ्यो, जतिबेला उनीसँग नातेदार कोही पुरुष साथमा हुन्थ्यो । यी नियम उल्लंघन गर्ने महिलालाई सार्वजनिक स्थानमा कोर्रा लगाइन्थ्यो ।

सरिया के हो ?

सरिया कानुन इस्लामको कानुनी प्रणाली हो । यो कानुन सबैभन्दा महत्वपूर्ण पुस्तक ‘कुरआन’ र इस्लामी विद्वानका निर्णय अर्थात् ‘फतवा’ यी दुवै मिलाएर बनाइएको हो । सरियाको शाब्दिक अर्थ– ‘पानीको एक स्पष्ट र व्यवस्थित बाटो’ हुन्छ ।

सरिया कानुनले जीवनको बाटो बताइ दिन्छ । सबै मुसलमानले यसको पालना गर्ने संकल्प गर्छन् । यसमा प्रार्थना, उपवास र गरिबलाई दान गर्न निर्देश गरिएको छ । यसको उद्देश्य मुसलमान समुदायलाई आफ्नो जीवनका हरेक पक्ष भगवानको इच्छाअनुसार कसरी सञ्चालन गर्ने भनेर बुझ्न मद्दत गर्नु हो ।

व्यवहारमा यसको अर्थ

सरिया कानुनले एक मुसलमान व्यक्तिका हरेक पक्षबारे आदेश दिन्छ । उदाहरणका लागि काम सकेपछि कुनै आफ्ना साथीले पबमा बोलाएका कारण सोचमा डुबेको मुसलमानले सरिया विद्वानसँग गएर सल्लाह लिन सक्छ, जसले गर्दा उसले आफ्नो धर्मको ढाँचाभित्र रहेर व्यवहार गर्न सकोस् ।

दैनिक जीवनका अन्य क्षेत्र जस्तैः पारिवारिक कानुन, वित्त र व्यवसायका विषयमा मार्गदर्शनका लागि पनि मुसलमान व्यक्तिले सरिया कानुनको सहयोग लिन सक्छन् ।

सरिया कानुनको केही कठोर सजाय

सरिया कानुनले अपराधलाई दुई तहमा विभाजन गरेको छ । पहिलो– ‘हद’, जुन गम्भीर अपराध हो र जसका लागि अपराध नै दण्ड तोकिएको छ । दोस्रो– ‘तजिर’ अपराध, यसको सजाय न्यायाधीशको विवेकमा छाडिएको छ ।

‘हद’वाला अपराधमा चोरी पनि पर्छ । जसमा अपराधीको हात काटेर सजाय दिन सकिन्छ । यस्तै व्यभिचार गर्नेलाई ढुंगानाले हानेर मृत्युदण्ड दिन सकिन्छ । केही इस्लामी संगठनलको तर्क छ, ‘हद’ अपराधका लागि सजाय माग गर्दा यसका नियममा धेरै सुरक्षाको व्यवस्था गरिएको छ । यो सजाय दिनु पहिले धेरै ठोस प्रमाण आवश्यक हुन्छ ।

संयुक्त राष्ट्र संघले ढुंगाले हानेर हत्या गर्ने सजायको विरोध गरेको छ । उसले भनेको छ– यस्तो सजायले यातना वा अन्य क्रुर, अमानवीय वा अपमानजनक सजाय निम्त्याउँछ । यसकारण यो पूर्ण प्रतिबन्धित छ । तर सबै मुस्लिम मुलुकले यस्तो सजाय दिँदैनन् । सर्वेक्षणअनुसार यस्तो अपराधमा कठोर सजाय दिने विषयमा मुसलमान समुदायका मत एकदमै फरक–फरक छन् ।

धर्म परिवर्तन गर्नेलाई फाँसीको सजाय हुन्छ ?

धर्म परिवर्तन गर्नु मुसलमान समुदायबीच ठूलो विवादको विषय हो । विज्ञका अनुसार धेरैजसो मुस्लिम विद्वानले यसको सजाय मृत्यु भनेका छन् ।

तर मुस्लिम विचारकको एक अल्पसंख्यक वर्ग (विशेष गरी पश्चिमी देशसँग सम्बन्धित) आधुनिक विश्वमा यस्तो विषयमा सजाय दिने काम ईश्वरको जिम्मामा छाड्नुपर्ने मान्छन् ।यस्ता विद्वानको मत के छ भने इस्लामा धर्मत्याग गर्नु कुनै खतराको विषय होइन ।

निर्णय कसरी गरिन्छ ?

कुनै पनि कानुनी प्रणाली जस्तै सरिया पनि निकै जटिल छ । यसको कार्यान्वयन पूर्ण रूपमा विज्ञ र उसको बुझाइमा भरपर्छ । इस्लामी कानुनका न्यायाधीशले मार्गदर्शन र निर्णय जारी गर्छन् । मार्गदर्शनलाई फतवा भनिन्छ । यसलाई औपचारिक कानुनी निर्णय मानिन्छ । सरिया कानुनका पाँच अलग अलग स्कुल छन् । चार सुन्नी सिद्धान्त छन्– हनबली, मलिकी, सफी र हनफी । अर्काे एक सिया सिद्धान्त छ, जसलाई सिया जाफरी भनिन्छ । बीबीसी

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment