३२ सय बचतकर्ताको ७ अर्ब डुबाउने सिभिल सहकारीका इच्छाराज तामाङ बेपत्ता

 

काठमाडौं । राजनीतिको आड र दबाबमा सयौँ सर्वसाधारणको अर्बौं रुपैयाँ पनि तलमाथि गर्न पाइने रहेछ यो मुलुकमा । यसकाे पछिल्लाे उदाहरण हो– सिभिल सहकारी र सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ । लगभग साढे चार बर्षदेखि ३२ सय सर्वसाधारण बचतकर्ताको ७ अर्ब बढी रकम डुबाएर इच्छाराज गायब छन् ।

सिभिल सहकारी काठमाडौंको कालीमाटीस्थित सोल्टीमोडमा नै छ तर यस्को वास्तविक शक्तिधारी मानिस गायब छन् । उनले कहाँ बसेर रिमोटबाट यो सहकारी चलाइरहेका छन्, कसैलाई थाहा छैन । सर्वसाधारण बचतकर्ताले खाईनखाई जम्मा गरेको सात अर्ब बढी रकम लिनका लागि धाएको साढे चार बर्ष भइसक्यो । तर भोलि दिन्छु र पर्सि दिन्छु भन्न छाड्दैन सहकारीले । कहिले सिभिल ग्रुपको सम्पत्ति बेचेर भए पनि सबै निक्षेपकर्ताको रकम तिर्ने भन्दै आश्वासन पनि दिन्छ । तर त्यो सहकारीले कबुल गरेको भोलि पर्सि कहिले आउँदैन नत कुनै सम्पत्ति नै बेचेर हिसाब फरकफारक पारेको छ । धाउनेहरु कतिपय शारीरिकरुपमा अशक्त पनि भइसके तर सिभिल सहकारी वचतर्कतालाई ढाँटेर थाकेको छैन ।

वागमती प्रदेश सरकार र सरोकारवाला सरकारी निकायले पनि सिभिल सहकारीमाथि बचतकर्ताको रकम फिर्ता दिन दबाब नबढाउँदा र कुनै कारवाही प्रक्रिया अघि नबढाउँदा वचतकर्ताहरु निराश बनेका छन् । नेकपा एमालेका शक्तिशाली व्यक्ति मानिएका इच्छाराज तामाङले एमालेकै आड भरोसाको कारण साढे चार बर्षदेखि बचतकर्ता अल्मल्याउन सफल भएपनि अब भने नसक्ने बताउँदै बचतकर्ताहरु फसेको रकम उठाउन फेरि जुर्मुराएका छन् । त्यसमाथि तामाङलाई प्रहरीले पनि खोजी प्रक्रिया तीब्र बनाएको छ ।

सत्ता फेरिनेबित्तिकै बचतकर्ता सक्रिय

सत्ता र शक्तिको दुरुपयोग गरेर सर्वसाधारणको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाएका इच्छाराज तामाङ अहिले सत्ता र शक्तिविहीन बनेका छन् । वचतकर्ताको सावाँ र ब्याज केही नतिरी भूमिगत भएका तामाङ पछिल्लो समय झनै वेपत्ता झै छन् । ३२ सय बचतकर्ताको विचल्ली बनाएको तामाङको खोजीमा प्रहरी पनि लागिपरेको छ । विशेषत सत्ता परिवर्तन हुने वित्तिकै वचतकर्ताहरु पनि सक्रिय बनेर बिभिन्न निकायमा धाउन थालेका छन् ।

आफ्नै कम्पनीलाई आठ अर्ब १३ करोड ऋण

सहकारीसम्बन्धी ऐन र नियमहरुको धज्जी उडाउँदै एउटै मात्र कम्पनी सिभिल्स होम्स प्रालिलाई असीमित ऋण प्रवाहर गरेको सिभिल सहकारीको १८ औं बार्षिक प्रतिवेदनले देखाएको छ । जुन २०७५ साल पुष ३० गते पेश भएको थियो । जस्मा सहकारीले प्रवाह गरेको कुल कर्जा आठ अर्ब १३ करोड ६७ लाख ४६ हजार ५ सय ७८ रुपैयाँ ४४ पैसामध्ये सिभिल होम्सलाई मात्र २०७५ असार मसान्तसम्ममा ७ अर्ब १ करोड ३७ लाख ११ हजार २ सय ११ रुपैयाँ ३७ पैसाभन्दा बढी कर्जा दिएको देखिन्छ । जुन कुल कर्जा रकमको ८६.२ प्रतिशत हुन आउँछ । यो सबै यथार्थता भुलेर सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ भने सहकारी आफै समस्यामा रहेको झुठो तर्क अघि सार्छन ।

चेक दिइयो तर सबै बाउन्स

सहकारीमा हरेक दिन धाउने वचतकर्ताहरुलाई बिभिन्न मितिमा रकम लिन भन्दै चेक पनि दिइयो । तर सबै चेक बाउन्स भए ।
चेक बाउन्समा किन खोजी भएन सहकारी सञ्चालकको ?

चेक बाउन्स भएमा नेपालको कानूनले त्यसलाई क्षम्य मान्दैन । उजुरी गरे ठाडै कारवाही हुने व्यवस्था छ । तर बचकर्ताहरुले उजुरी गर्दा पनि सिभिल सहकारीलाई भने कहिल्यै कुनै कारवाही भएन ।

ऋण उठने सम्भावन न्यून, बचतकर्ताको रकम डुब्ने जोखिम

सिभिल होम्सले ब्याज समेत तिर्नसक्ने अवस्था नदेखिँदा हालसम्ममा सावाँ र ब्याज गरी झण्डै ८ अर्ब रुपैयाँ नाघेको छ । जुन रकम सिभिल सहकारीमा जम्मा भएको कुल निक्षेपको बराबर हो । ऋण असुली नभएको अवस्थामा सहकारीको बचतकर्ताहरूको रकम समेत फिर्ता गर्न कठिनाइ हुने देखिएको छ ।

त्यसैले ऋण लगानी रकम असुली हुने सम्भावना एकदम न्यून रहेकोले सिभिल सहकारीका ३२ सय बढी बचतकर्ताको बचत पूरै जोखिममा परेको छ । त्यसमाथि सिभिल सहकारीले सिभिल होम्सबाहेक सिभिल अपार्टमेन्ट प्रालिलाई ३४ करोड ६७ लाख ८० हजार ७ सय ४५ रुपैयाँ ९१ पैसा र सिभिल इस्टेट्स प्रालिलाई ६ करोड ६८ लाख ४६ हजार ४ सय ७ रुपैयाँ ८९ पैसाा कर्जा प्रवाह गरेको पाइएको छ । यी सबै व्यापारिक संस्थाका प्रमुख अरु कोही नभएर स्वयं इच्छाराज तामाङ नै हुन् ।

सिभिल होम्स प्रालिका अध्यक्ष इच्छाराज तामाङ र सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ भने नाताले भाञ्जीज्वाइँ र मामाससुरा हुन् । त्यसमाथि केशवलाल श्रेष्ठ सिभिल होम्सका सञ्चालक समेत हुन् । वचतकर्ताहरुले तामाङको कीर्तिपुर ट्याङ्लाफाँटस्थित विशाल क्षेत्रमा निर्मित भवन र श्रेष्ठको बालाजुमा रहेको आवास रोक्का गरेर भए पनि आफूहरुको फसेको रकम उठाइदिन सरोकारवाला निकायसंग माग गर्दै आएका छन् ।

न्युज२४ नेपालबाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment