कनकाइ नदीमा आएको बाढीका कारण झापाको गौरीगञ्जबासी प्रभावित

  • युवराज आचार्य,

झापा । अविरल वर्षाका कारण कनकाइ नदीमा बाढी आउदा झापाको गौरीगञ्ज गाउँपालिका क्षेत्रका हजार भन्दा बढी घरपरिवार प्रभावित भएका छन् ।

केही दिनदेखि अविरल बर्षाका कारण कनकाइ नदीमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका १ स्थित रँगियाथान बस्तीमा बाँध फुटाउदा गौरीगञ्ज १, ३, ४,६ र १० नं वडाका स्थानीयबासी बाढीबाट प्रभावित भएका हुन् ।

कनकाइ नदीमा आएको बाढीले नदीमा लगाइएको करिब ३०० मिटर जति बाध फुटाएर बाढी मानवबस्तीमा पस्दा नदी छेउछाउका चार घर पुरै विस्थापित बनाएको छ, भने २५ घर विस्थापित हुने अवस्थामा पुगिसकेका छन् ।

शनिबारदेखि आएको बाढीले प्रभावित क्षेत्रमा विगत तीन दिनदेखि नेपाली सेना, प्रहरीलगायत स्थानीय युवाहरूले बाढी रोकथामका प्रयास गरेपनि अझै सफल हुन सकिरहेको छैन ।

बाढीले सडकको पुल बगाउँदा आवतजावतमा समस्या भएको छ, भने बीसौं बिघाह खेतीयोग्य जमिन बगाउदा हजारबढी परिवार त्यसको प्रत्यक्ष मारमा पारेका छन् ।

तटबन्ध गरिदिन पटक–पटक स्थानीय सरकारसँग माग गर्दा पनि बाँध निर्माणका लागि सहयोग नपाएको यहाँका स्थानीयले आरोप लगाएका छन् । यता बाढीबाट प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतले मंगलबार स्थलगत अनुगमन गरेका थिए ।

पीडित परिवारलाई आज केही खाद्यान्नलगायतका राहत सामग्री वितरण गरिएको गौरीगञ्ज गाउँपालिका १ वडा कार्यालयले जनाएको छ । त्यस्तै गौरीगञ्ज १ का जनप्रतिनिधिले सो क्षेत्रको समस्याका बारेमा सम्बन्धित निकायलाई जानकारी गराएको र समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

खोला नियन्त्रणका लागि सो स्थानमा ७ बर्ष अघि जनताको तटबन्ध कार्यक्रम झापाले २५ लाखको बजेटमा माटोको बाध लगाएको थियो । त्यसको समयमा नै मर्मत सम्भार नगर्दा नदीले धार परिवर्तन गरि मानवबस्तीमा पसेको देखिन्छ ।

पछिल्लो समय सरकारले आपतकालीन बजेट कटौती गरेकाले बिपद्का बेला समयमै समस्याको समाधान गर्न नसकिने जनताको तटबन्ध कार्यालय झापाले जनाएको छ ।

बर्खा सुरू भएसंगै बर्सेनी बाढीको उच्च जोखिममा पर्ने उक्त क्षेत्रहरूमा सम्बन्धित निकाय र तीनै तहका सरकार संवेदनशील नबन्ने हो भने आगामी दिनमा मानवीय क्षति हुनको साथै हजारौं नागरिकको बिल्लीबाँठ हुने निश्चित देखिन्छ ।

न्युज२४बाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment