महादेवको पूजा-अर्चना गरी हिन्दू महिलाहरूले आज हरितालिका तीज मनाउँदै

 

काठमाडौँ । हिन्दू महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज आज (बिहीबार) मनाउँदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।

तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्ने गरेका छन् । यद्यपि कोरोना महामारी रहेकाले तीजको दिनमा भीडभाड नगर्न चिकित्सकको सुझाव छ ।

हिमालय पुत्री पार्वतीले आफ्नो पति भगवान शिवको शरीरमा केहि नहोस भनी लिएको पहिलो व्रत दिन हरितालिका तीजको दिन थियो । पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने वचन पिता राजा हिमालयले गरेकोले पार्वतीले आफुले मन पराएको शिवलाई पाउन तपस्या गरेकी थिइन् ।

आफूले तपस्या गरेको वर्षदिन पुग्दासमेत फल नपाएपछि पार्वतीले एकदिन शिवको मुर्ति राखेर निराहार ब्रत बसिन् । यसरी पार्वती निराहार व्रत बसेपछि शिव जी आफै प्रकट भई इच्छा पुरा होस् भनी आर्शिवाद दिएकाले पार्वती र शिवको विवाह भएको विश्वास रहेको छ । उक्त दिन भाद्र शुक्ला तृतिया परेको थियो ।

यसरी शिव र पार्वतीको विवाह सम्पन्न भएपछि हिन्दू नारीहरुले यसदिनलाई हरितालिका तीज चाडको रुपमा मनाउन थालेको मानिन्छ । हाम्रो समाजमा तीजमा विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्ने र अविवाहिताहरुले शिवजी जस्तै योग्य पति पाउने आशा गर्दै व्रत बसी नाचगान गर्छन् । विशेष त यो चाडमा नारीहरुले पतिको आयु लामो होस् भनेर निराहार व्रत बसी भगवान शिवजीसँग प्राथना गर्छन् ।

दिनभरी व्रत बसेर साझमा भगवान शिवको आराधना गरेर गीत तथा नाचगान गर्ने चलन रहेको छ । घरमा महिलाले भोगेका दुख दिदीबहिनीसँग गीतको माध्यमबाट पोख्ने पुरानो चलन रहेको छ । यसरी छिमेकमा दिदी बहिनी जम्मा भएर रमाइलो गर्छन् । जन्मघर र आफ्ना आमा बुबा दाजु भाई दिदी बहीनी छाड्न बाध्य नारीहरुले यस दिन वर्ष भरीको सबै दुख बिर्सीएर रमाउने गर्छन् ।

यसैबीच तीज पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलने त्रासले पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ ।

काठमाडौँ उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । पशुपति भोलि (शुक्रबार)बाट मात्रै खोलिने भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment