- तारा आचार्य
विराटनगर । मोरङ कारागारका चौकीदार किरण गुरुङ र भाइनाइकेहरुले यातना दिएको भन्दै कैदी बन्दीहरुबीच आपसमा झडप हुँदा १४ जना घाइते भएका छन् ।
मंगलबार विहान भएको झडपमा ६ जनालाई घाउ चोट लागेको छ भने ८ जना सामान्य घाइते भएको १ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले जानकारी दिनुभयो ।
घाउ चोट लागेका चौकिदार गुरुङ सहित ६ जनाको कोशी अस्पतालमा उपचार भईरहेको छ । कारागारभित्र झडप भएपछि स्थिति नियन्त्रणमा लिन धेरै संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
प्रहरीले देउसी विवादमा कैदी बन्दीहरु बीच झडप भएको बताएता पनि कैदी बन्दीका आफन्तले भने चौकिदार विवादका कारण झडप भएको बताएका छन् । कारागार भित्रै पटक पटक झडप हुने गरेकाले आफ्ना कैदी बन्दीलाई अन्यत्र सरुवा गरिदिन कैदी बन्दीका आफन्तले आग्रह गरेका छन् ।
तोकिएभन्दा धेरै संख्यामा कैदीबन्दी राखिएकाले पटकपटक झडप हुने गरेको प्रहरीले जनाएको छ । कारागारभित्र होहल्ला भएपछि चौकीदार सहित १४ जनालाई बाहिर निकालेपछि अहिले मोरङ कारागारको स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।
सो कारागारमा ९ सय ७२ जना कैदीबन्दी रहेका छन्, जसमा ७२ जना महिलाहरु रहेका छन्
0 comments:
Post a Comment